काठमाडौँ– नेपाल विद्यार्थी संघले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


नेवि संघले माथेमा प्रतिवेदन लागू गरेर डा. केसीले राखेको माग पूरा गर्न माग गर्दै आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्यालीसमेत निकालेको छ । नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवि संघले विरोध प्रदर्शन गरेको बताए ।


ADVERTISEMENT

# # #


नेवि संघले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेवि संघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइतेसमेत भएका छन् ।

यसैबीच नयाँ शक्ति नेपालले समेत विभिन्न माग राखी माइतीघरमा विरोध प्रदर्शन गरेको छ । वैशाख १ बाट आर्थिक वर्षको शुरुआत गरिनुपर्ने, असारे विकास बन्द गरिनुपर्ने, निषेधाज्ञा खारेज गर्नुपर्ने, सम्पदा र संस्कृति जोगाउनुपर्ने, मौलिक अधिकारको सुनिश्चितता गर्नुपर्नेलगायत माग राखेर विरोध प्रदर्शन गरेको हो ।

कार्यक्रममा नयाँ शक्ति नेपालकी नेत्री हिसीला यमीले सरकार महँगी र भ्रष्टाचारमा लागेको आरोप लगाए । सरकारले दुईतिहाइको आडमा शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न खोजेको उनको भनाइ थियो ।