काठमाडौँ– स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका प्रतिपक्षी गठबन्धनको अवरोधका कारण ब्यवस्थापिका संसदको बैठक आजपनि कार्यसूचीमा प्रवेश गर्न सकेन ।


ADVERTISEMENT


दिउँसो एक बजेका लागि बोलाईएको बैठक एमाले सांसदहरुको अवरोधका कारण ४ बजेका लागि सारिएपनि कार्यसूचीमा भने प्रवेश गर्न पाएन । झण्डै एक घण्टा ढिला गरी सुरु भएको बैठकमा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आफुहरुको मागप्रति सरकार गम्भीर नदेखिएकाले सदनको कामकारवाही अगाडि बढ्न नसक्ने बताएका थिए ।


ADVERTISEMENT

# # #


ढकालले धारणा राखे लगत्तै आ–आफ्नो ठाउँमा उठेर मौन बिरोध गरेपछि सभामुख ओनसरी घर्तीले बैठक भोली दिउँसो एक बजेसम्मका लागि स्थगित गरिन् । संसद बैठक बारम्बार स्थगित भएपछि नयाँ आर्थिक बर्षको प्रिबजेटमाथिको छलफल अन्योलमा परेको छ भने संवैधानिक ब्यवस्थाअनुसार आगामी जेठ १५ गते ल्याउने तयारी भएको पूर्ण बजेटको कार्यतालिका समेत प्रभावित हुने देखिएको छ ।

एमाले सांसदहरुले अवरोध गर्ने संकेतका बीच गत मंगलवार र बुधवारको बैठक समय निर्धारण गरेरपनि स्थगित भएको थियो भने हिजोको दोस्रो बैठक र आजको पहिलो बैठकमा भने उनीहरुले आ–आफ्नो ठाउँमा उठेर बिरोध जनाएका थिए । सहमतिका लागि भन्दै सभामुख घर्तीले आज बोलाएको प्रमुख तीन दलको बैठकमा शीर्ष नेताहरु नै अनुपस्थित भए । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा बिभिन्न कार्यक्रममा ब्यस्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली समेत बैठकमा नआएको संसद सचिवालय स्रोतले जनाएको छ ।

सभामुख घर्तीसँगको छलफलमा प्रमुख सचेतकहरुले समस्या समाधानका लागि शीर्ष तहमै छलफल गर्नु पर्ने बताएपछि भोली बिहान दलीय छलफलको तयारी भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।