निजगढ, बारा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको निजगढ- काठमाडौँ द्रुत मार्ग (फास्ट ट्र्याक)को आज शिलान्यास गरेका छन् ।


ADVERTISEMENT


बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने  ७६.२ किमी दूरीको उक्त सडक ४ वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।   फास्ट ट्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए ।


ADVERTISEMENT

# # #


मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दु्रत मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ । यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्याउनेछ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौँ उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेपाली सेनाका प्रधानसेनापतिलगायतको सहभागिता थियो ।

रु एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुनेछ । फास्ट ट्याक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गको विभिन्न ९९ स्थानमा पुल बन्नेछन् भने ६ वटा आकासे पुल हुनेछन् ।मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्ने जानकारी शिलान्यास कार्यक्रममा दिइयो ।