– १८ सयको सामानमा ५ हजारको विल
– कमिसनको कुरो नमिल्दा २३ लाख फ्रिज


ADVERTISEMENT


भुवन बहादुर सिँह/बझाङ– गतवर्ष घरेलु तथा साना उद्योग विकास समितिले उद्यमीहरुको लागि उपयुक्त प्रविधी हस्तान्तरण गर्ने भन्दै आवदेनका लागि आव्हान गर्यो । एक उद्यमीलाई एक लाख बराबरको उद्योगमा चाहिने मेसिन औजार प्रदान गर्ने सुचनाका आधारमा थुप्रैले दरखास्त दिएका थिए । २० प्रतिशत उद्योगी आफैले व्यहोर्नु पर्ने र समितिले ८० हजार वा ८० प्रतिशत रकम हालेर उद्योगका लागि आवश्यक पर्ने सामान खरिद गर्नका लागि ४१ जना छनौट गरिए ।


ADVERTISEMENT

# # #


छनौट हुने मध्येका एक थिए । सुलोन पोल्ट्री फर्मका संचालक नरेन्द्र खड्का । उनलाई अनुदानको सामाग्री पाउनका लागि २३ हजार रकम जम्मा गरे । रकम जम्मा गरेको एक महिना पछि उनले स्माल ड्रिङकर (पानी र चारा खुवाउने सानो भाँडा) ५० वटा, भुस्सा भकारी ५ वटा, फिडर (दाना खुवाउने मध्यम खालको भाँडा) ५० र हिटर १ वटा प्राप्त गरे । ५ वर्ष देखी पोल्ट्री व्यवसाय गर्दै आएका खड्का त्यती वेला छक्क परे, जव उनले घरमा आएर पाएका सामानको मुल्यको हिसाब निकाले । ‘ यसो सामान हेर्दा एकलाखको सामान होइन की जस्तो लाग्यो’ उनले भने ‘पछि हिसाब गरी हेर्दा त एक लाखको अनुदान भने पनि सबै सामानको मुल्य ४९ हजार ५ सय भन्दा पनि कम देखियो’ उनले जोडेको मुल्य सदरमुकाम चैनपुरको खुद्रा विक्री मुल्य थियो । ‘कोटेशन लिएर घटिघटाउमा सामान किन्दा यति नै सामान ३७/३८ हजारमा पाइन्छ’ उनले भने ।

एक लाखको २० प्रतिशतका दरले हामीले जम्मा गर्नु पर्ने २० हजार मात्र थियो । त्यै पनि नियमले यस्तै होला भनेर २३ हजार जम्मा गरेका उनले सामान खरिदमा आफुहरुलाई ठगेको थाहा पाएपछि उद्योग अधिकृत सन्तोषी नेपालीलाई गुनासो गर्न पुगे । नेपालीले बोलपत्र (कोटेसन) आव्हान गरेर सामान खरिद गरेको र सामान एक लाख बराबरको नै भएको जिकिर गरिन । तर नरेन्द्र मान्नेवाला थिएनन । उनले अनुदानको सामाग्री वितरणमा ठगी भएको भन्दै अख्तियारमा मुद्धा हाल्ने बताए पछि उद्योग अधिकृत नेपालीले नरेन्द्रलाई फकाईन । प्राविधिक कारणले त्यसो भएको भन्दै उनलाई ४० हजार फिर्ता गरिदिइन ।

नरेन्द्रले रकम फिर्ता पाएको थाहा पाएका केही व्यक्तीहरु आफुहरुको रकम माग्न घरेलु समितिमा पुगे तर उनिहरुलाई भने उद्योग अधिकृत नेपालीले एकलाख बराबरको सामान त्यति नै भएको र सरकारी कार्यालयले कोटेसन माग गरेर खरिद गरेका कारण मुल्य केही बढेको हुन सक्ने भन्दै रितै फर्काइदिइन । दुर्गा थली गाउँपालिकाका एक जना पोल्ट्री व्यवसायी दिपक थापाले भने ‘बजारमा १८ सय पर्ने हिटरको ५ हजार कसरी पर्यो भनेर सोध्दा, यो कुनै व्यक्तीले पसलमा किने जस्तो होइन, सरकारी कार्यालयले प्रक्रृया पुर्याएर खरिद गरेको हो । मुल्यमा केही तलमाथी त भैहाल्छ नी भन्नु भयो । होला त भनेर फर्केर आयौं’ उनले आफुले प्राप्त गरेका सामानमा बजारमा पाइने मुल्य भन्दा ३ सय देखी ३ हजार २ सय सम्म
मुल्य बढाएर खरिद गरेको पाइएको बताए ।

गत वर्ष ५० जना उद्यमीलाई प्रविधी हस्तान्तरण कार्यक्रम अन्र्तगत ५० लाख अनुदान आएकामा ४१ जनालाई ३० लाख ३८ हजार बराबरको सामान वितरण गरेको घरेलु तथा साना उद्योग विकास समितिले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ । नयना टे«ड कन्र्सन बाइसे विचवा ५ कन्चनपुरको सप्लायर्स कम्पनी सँग मिलेमतो गरि उक्त सामान खरिद गरिएको र यो कार्यक्रमबाट मात्रै नेपालीले १३ लाख भन्दा बढी रकम अनियमितता गरेको घरेलु विकास समितिकै एक कर्मचारीले आरोप लगाए ।

सिलाई कटाई, छालाजुत्ता, हातेहोजियारी, गाइर्फाम, तेल पेल्ने लगायतका उद्योगका व्यक्तीहरुलाई वितरण गरिएको अनुदानको सामानमा आधा कमिसन खाएको आरोप उद्योगी तथा कार्यालयका कर्मचारीहरुले लगाउने गरेका छन । ‘घँसकाटने मेसिन बजारमा १२ हजार सम्म पाइन्छ’ समितिका एक कर्मचारी भन्छन ‘सप्लार्यस सँग सेटिङ मिलाएर ३५ हजारमा खरिद गरेको विल पेश गरिएको छ । वितरण भएका सबै सामानमा यस्तै अवस्था रहेको छ ।’ उनले भने ।

कमिसन नमिल्दा २३ लाख फ्रिज

यस आर्थिक वर्षमा पनि उपयुक्त प्रविधी हस्तान्तरण कार्यक्रम अन्र्तगत नै अनुदानका माग्नका लागि मंसिरमा नै दरखास्त आव्हान गरियो । सोही महिना ३० जनाको नाम अनुदान पाउनेको सुचीमा छनौट पनि भयो । अनुदान कार्यक्रम अन्तरगत पोल्ट्री फर्म, सिलाईकटाई, तरकारी खेती, मासु पसल जस्ता उद्योगहरु अनुदान पाउनेमा सुचिकृत भएका थिए । अनुदान पाउनेमा नाम छनौट भएका उद्यमीहरु खुशी पनि भए । अनुदान
पाएकोमा खुशी हुने मध्येका एक थिए । पोल्ट्री व्यवसायी लोकेन्द्र्र खड्का ।

उनले आफुले पाएको अनुदानको सामान कहिले पाइन्छ भनेर यस अवधीमा दर्जर्नौ पटक घरेलुको कार्यालय धाए । जति पटक गए पनि आउदै छ भन्ने जवाफ पाएका उनि असार दोस्रो साता तिर अव यो वर्ष सामान खरिद गर्न सकिएन बजेट फ्रिज जाने भयो भन्ने कर्मचारीको जवाफ सुने पछि निरास भएर फर्किए । ‘मंसिर मै नाम छनौट भएको हो’ उनले भने ‘आउछ आउछ भन्दै आठ महिना सम्म कुराए । अहिले आएर खरिद गर्ने सकिएन भन्ने जवाफ दिन्छन । यत्रो समय के हेरेर बसे होलान ?’

‘अरु कर्मचारीलाई किन कार्यक्रम फ्रिज गयो भनेर सोध्दा हाकीमलाई सोध्नुस भन्छन’ सिलाई मेसिन अनुदान पाउनेमा छनौट भएका मिन बहादुर दमाईले भने ‘हाकिमलाई सोध्दा फ्रिज गयो प्रक्रिया पुर्याउन समय पुगेन भन्ने जवाफ आउछ । केही बुझ्न सकिएन’ उनले अनुदानमा छनौट भएका उद्यमीहरुबाट एक हजारका दरले रकम समेत उठाइएको र सो रकम समेत फिर्ता नदिइएको बताए ।

उद्योग अधिकृत नेपालीले धनगढीमा रहेका धेरै सप्लायर्सहरु सामान खरिद र कमिसनको विषयमा अनौपाचारिक तरिकाले छलफल गरेको तर उनले खोजे जस्तो कमिसनमा सामान उपलब्ध गराउन कुनै पनि सप्लार्यस तयार नभए पछि रकम फ्रिज गरिएको स्वयं घरेलु समितिका कर्मचारीहरु नै बताउछन ।

नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारी भन्छन ‘आधा भन्दा बढी रकम कमिसन मागे पछि सामान ल्याउन कोही तयार भएनन’ उनले कमिसनको कुरो मिलाउनका लागि नेपाली आफै पटक पटक धनगढी गएर व्यापारीहरु सँग कुरो गरेको बताए । नेपालीले सामान खरिद प्रक्रिया अगाडी नबढाउनुको अर्काे कारण अघिल्लो आर्थिक वर्षको अनुदान वितरणमा आएको विवाद पनि भएको उनको तर्क छ । ‘आफुलाई फाइदा नआउने र विवाद मात्र बढी हुने भएका कारण पनि उहाँले बजेट फ्रिज गर्ने सोच बनाउनु भएको हो ।’

नेपालीले आफु जादै नगएको ठाउँमा गएको भनेर भ्रमण भक्ता लिने गरेको, तालिमका सहभागिहरुलाई कमसल गुणस्तरको खाजा, र तालिम सामाग्री दिएर रकम बचाउने गरेको आरोप समेत घरेलु समितिका कर्मचारीहरुले लगाउने गरेका छन ।

चरित्रहत्या गर्ने काम भयो

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र कार्यालय प्रमुख सन्तोषी नेपाली, तस्बिरः भुवन बहादुर सिँह

यता उद्योग अधिकृत सन्तोसी नेपालीले आफुले आरोप लगाइए जस्तो कुनै पनि गलत काम नगरेको बताइन । उनले सामानको मुल्यको बारेमा आफु जानकार नभएका कारण अघिल्लो आर्थिक वर्षमा केही सामानको मुल्य बढी परेको बताउदै यसले कार्यालय र उद्योगी दुबैलाई घाटा भएको बताइन ।

यस वर्षको बजेट फ्रिज गएको बारेमा बताउदै नेपालीले भनिन ‘सुरुमा स्थानिय स्तरमै सामान खरिद गर्न सकिन्छ की भनेर प्रयास गरेका हौ । यस विषयमा उद्योग बाणिज्य संघलाई पनि सोधेका थियौ । यहाँका व्यापारीले सामान उपलब्ध गराउन सकेनन ।’ स्थानिय स्तरमा सामान खरिद हुन नसके पछि जिल्ला बाहिरका व्यापारीहरु सँग अनौपचारीक रुपमा यस विषयमा छलफल गर्दा गर्दै समय कटेको पत्तै नभएको उनको भनाई छ । तर
अघिल्ला वर्षहरुमा पनि मेसिन औजार वितरण गर्ने गरिएको र जिल्लामा यस्ता समान उपलब्ध नहुने गरेका कारण बाहिरबाट नै कोटेसन गरेर खरिद गर्ने गरिएको एक जना पुर्व उद्योग अधिकृतले बताए ।

यद्यपी सामान खरिद गर्नका लागि नेपाल सरकारको खरिद ऐनले तोकेको बोलपत्र आव्हान गर्ने, दरभाउ पत्र आव्हान गर्ने जस्ता प्रक्रिया भने कार्यालयले पुरा नगरेको उनले स्विकार गरिन । ‘हामी त्यता तिर लागेनौ’ उनले भनिन ‘तर सामान खरिद गर्नका लागि हरसम्भव प्रयास गरिएकै हो’ उनले आफुले कमिसन नपाएका कारण बजेट फ्रिज गरेको भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताइन ।