काठमाडौँ– काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताएका छन् ।


ADVERTISEMENT


कामपा प्रमुखमा निर्वाचित भएपछि आज विज्ञप्ति जारी गरी उनले आफूप्रति आशा, विश्वास र भरोसाका साथ दिइएको गहन जिम्मेवारी पूरा गर्न दिनरात नभनी खट्ने प्रतिबद्धता व्यक्त गरे।  उनले आफूलाई मतदान गर्ने मतदाता र समर्थन गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सो पदमा योग्य ठान्ने आफ्नो पार्टी नेकपा (एमाले), पार्टी कार्यकर्ता, शुभचिन्तक एवम् सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा पनि कृतज्ञता ज्ञापन गरेका छन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्ष रुपमा अहोरात्र खट्ने पार्टी नेतृत्व, विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता, महानगरवासी, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायतलाई स्मरण गरिएको छ ।

उनले निर्वाचनका क्रममा मात्र होइन मतगणनास्थलमा समेत अहोरात्र खटेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी सबैले आआफ्नो ठाउँबाट गरेको योगदानप्रति सम्मान व्यक्त गरेका छन् ।

धन्यवाद ज्ञापन
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ठीक १० वर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पहिलो खुट्किलोका रुपमा रहेको स्थानीय निर्वाचन सात मध्ये तीन वटा प्रदेशमा सम्पन्न भएको छ । पहिलो चरणमा तीन वटा प्रदेशमा भएको निर्वाचन केही–केही स्थान बाहेक शान्तिपूर्ण र धाँदलीरहित रुपमा सम्पन्न भएको छ । करिब २० वर्षपछि व्यापक जनसहभागिता र जनसमर्थनकै बलमा पहिलो चरणमा ३४ वटा जिल्लामा भव्य रुपमा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।

पहिलो चरणको निर्वाचनमा जनताबाट प्राप्त अपार विश्वास, समर्थन र मायाप्रति हामी सबैले गौरव महशुस गरेका छौँ । म यही काठमाडौँ महानगरपालिकाको वडा नम्बर २१ वाट २० वर्षअघि पनि वडाध्यक्षमा निर्वाचित भई जनताको सेवा गर्ने अभिभारा पूरा गरेको थिएँ । आज राष्ट्रिय सभागृहमा झण्डै १४ दिन लगाएर गरिएको मतगणनाको अन्तिम परिणामसँगै मलाई झन् फराकिलो क्षेत्र र लाखौं जनताको मायाले माथिल्लो जिम्मेवारी प्राप्त भएको छ । यो जिम्मेवारी प्राप्त गर्ने अवसर दिनुहुने सबै मतदातालाई म सबै भन्दा पहिला हार्दिक धन्यवाद ज्ञापन गर्दछु । काठमाडौं महानगरपालिाको मेयरजस्तो गरिमामय पदमा योग्य ठान्ने मेरो प्यारो पार्टी नेकपा एमाले, पार्टी कार्यकर्ता, शुभचिन्तक एवं सबै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा पनि म कृतज्ञता ज्ञापन गर्दछु ।

निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्षरुपमा अहोरात्र खट्नुहुने पार्टी नेतृत्व, विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्ता, महानगरवासी, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायतलाई पनि मैले यो क्षणमा सधन्यवादसहित स्मरण गरेको छु ।

निर्वाचनका क्रममा मात्र होइन मतगणना स्थलमा समेत अहोरात्र खटेर सुरक्षा प्रदान गर्नुहुने सुरक्षाकर्मी साथीहरु, राष्ट्रसेवक कर्मचारीहरु सबैले आ–आफ्नो ठाउँबाट गर्नुभएको योगदानको पनि मैले स्मरण गरेको छु ।

अन्त्यमा, तपाईँहरुले मलाई जुन आशा, विश्वास र भरोसाका साथ यो गहन जिम्मेवारी सुम्पिनु भएको छ । म यो जिम्मेवारी पूरा गर्न दिन–रात नभनी खट्ने छु । म तपाईँहरुको आशा, विश्वास र भरोसालाई मर्न दिने छैन ।

धन्यवाद
विद्यासुन्दर शाक्य
मेयर
काठमाडौँ महानगरपालिका