सोल– दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो । उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो ।


ADVERTISEMENT


यसअघि नै उनलाई २४ वर्षको जेल सजाय भएको थियो । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डरल बराबरको जरीवनाको सजाय सुनाइएको थियो ।


ADVERTISEMENT

# # #


दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहेकी छन् । सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उनी थुनामै रहँदै आएकी छन् ।

उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए ।पार्क ६६ वर्षकी हुन् । उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति भएकी थिइन्। उनीमाथि राष्ट्रपति पद्मा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन् । रासस/एएफपी