एजेन्सी– मंगल ग्रहमा तरल अवस्थामा पानी भएको प्रमाण अनुसन्धानकर्ताहरुले फेला पारेका छन् । फेला पारेको जलाशय सो ग्रहको दक्षिणी ध्रुवीय हिमवत् क्षेत्रमुनी झण्डै २० किलोमिटर चौडामा फैलिएको छ ।


ADVERTISEMENT


यस अघि गरिएका अनुसन्धानमा मंगल ग्रहको धरातलमा तरल पानीको सम्भावित चिन्ह भेटिएको थियो तर पानी पाइएको यो पहिलो प्रमाण हो ।


ADVERTISEMENT

# # #


नासाका क्यूरियोसिटी रोवर भनिने अन्तरिक्ष वाहनले जुन तालबारे पत्ता लगाएको थियो, त्यसको पिँधको अन्वेशष गर्दा अतितमा पानी रहेको पत्ता लागेको थियो ।

यद्यपी, पातलो वायुमण्डलका कारण मंगलको जलवायु पहिलेको तुलनामा चिसो भएको छ । फलस्वरुपः त्यहाँको पानी बरफमा परिवर्तन भएको छ । यो नयाँ अनुसन्धान मार्सिसको मद्दतले सम्भव हुन सकेको हो । मार्सिस मार्स एक्सप्रेस आर्बिटरमा भएको एक राडार उपकरण हो ।

अध्ययनको नेतृत्व गर्ने इटालियन नेशनल इन्स्टिच्युट अफ एस्ट्रोफिजिक्सका प्राध्यापक रोबर्टो ओरोसेई भन्छन्, ‘यो सम्भवतः त्यति ठूलो ताल नहुन सक्छ ।’

यद्यपी, मार्सिसले तरल पानीको गहिराई कति छ भन्ने बारे पत्ता लगाउन सकेन । तर अनुसन्धान टोलीले यो कम्तीमा पनि एक मिटर गहिरो हुनसक्ने अनुमान गरेका छन् ।

प्राध्यापक ओरोसेई भन्छन्, ‘जे भेटिएको छ, त्यो पानी नै हो । यो एक पोखरीजस्तो छ । पृथ्वीमा जस्तो हिमलालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीचको भाग भरिएर रहेजस्तो होइन ।’

जीवनको सम्भावनाका लागि यो खोजको महत्व ?

मंगल ग्रहमाथि भएको यो ताजा खोजबाट जीवनको सम्भावनाबारे निश्चित रुपमा अहिले नै केही भन्न सकिन्नँ ।

ओपन युनिभर्सिटीका डा. मनिष पटेल भन्छन्, ‘हामीलाई लामो समयदेखि थाहा थियो कि मंगल ग्रहको सतहमा जीवनका लागि अनुकुल वातावरण छैन । त्यसैले अहिले मंगलमा जीवनको खोनी त्यसमुनिको तहमा हुँदैछ ।’

उनी थप्छन्, ‘नयाँ अनुसन्धानबाट मंगलमा पानी भएको पत्ता लागेको छ तर यतिले मात्र जीवनको सम्भावना बारे निष्कर्षमा पुग्न सकिन्नँ ।’

‘हामी जीवनको सम्भावनाको नजिक पुगेका छैनौं । तर अब मंगल ग्रहमा कहाँ र कुन दिशामा अघि बढ्ने भन्ने विषयमा पत्ता लागेको छ । यो लुकेको खजानाको नक्साजस्तो हो ।’