गौशाला– प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद भएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गरेको आरोप लगाइएको छ ।


ADVERTISEMENT


सांसद चौधरीको पति विनय चौधरीले सांसद विकास कोषको आव २०७४÷७५ को रु १० लाखभन्दा बढी आफ्नै गाउँमा स्थानीय सुरेश चौधरीको घरदेखि राष्ट्रिय प्राथमिक विद्यालय बजराही जाने बाटोमा यसै साता गरेको पक्की सडक निर्माणमा व्यापक भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


विनयले स्थानीयवासीको बेवास्ता गर्दै सो सडकमा पक्की ढलानको काम गर्दा होर्डिङ बोर्ड नझुण्ड्याएको, कतिको लागत, कति मिटरमा काम हुने, कस्तो काम हुने, रड, सिमेन्ट, बालुवाको के कति भाग हुने जस्ता इस्टिमेटका बारेमा कसैलाई कुनै जानकारी नगराएको स्थानीयवासी वीपेन्द्र पाण्डेले आरोप लगाएका छन् ।

त्यस्तै सो निर्माण कार्यको उपभोक्ता समिति को हो भन्ने बारेमा समेत कसैलाई केही थाहा नरहेको स्थानीयवासी लक्ष्मण ठाकुरको भनाइ छ । विनयले सो सडक निर्माण गर्दा स्थानीयवासीले इस्टिमेट, बजेट, होर्डिङबोर्ड लगायतका कुराको माग गर्दैै निर्माण रोक्न खोज्दा स्थानीयवासीलाई विनय र उनका सहयोगी नरेश सिंहले गाली–बेइज्जती गर्नाका साथै कुटपिट गर्ने धम्की दिएपछि पछि हटेको स्थानीयवासी रोशन पाण्डेले बताए ।

विनयले आफूखुशी मनोमानी ढंगले सडक निर्माण गरेको सम्बन्धमा स्थानीयवासीले जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई त्यसबारे जानकारी गराउँदै सो काम रोक्न अनुरोध गर्दा प्रमुख मिश्रले त्यो काम आफ्नो अधिकार क्षेत्रको नभएको भन्दै फर्काइदिएको स्थानीयवासी भिखारी मण्डलले बताए ।

त्यस्तै सो समस्या लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जाँदा त्यहाँबाट समेत कुनै सहयोग नमिलेको स्थानीयवासी राजु मण्डलले बताए । यसरी सांसदको पतिले गरेको भ्रष्टाचारका बारेमा स्थानीयवासीले रोक लगाउन जाँदा गाली बेइज्जती सहनु परेको, स्थानीय प्रमुख तथा प्रहरी प्रशासन समेतबाट कुनै सहयोग नमिलेपछि स्थानीयवासी दुःखी र आक्रोशित भएका छन् भने उनीहरुले अख्तियारलगायत सम्बन्धित सम्पूर्ण निकायलाई ध्यानाकर्षण गराउँदै यस कामको स्थलगत निरीक्षण गर्न तथा भ्रष्टाचारीलाई कानूनी कारबाहीको माग गरेका छन् ।

स्थानीयवासीले विनय चौधरीउपर लगाएको आरोपबारे सांसद बबिता चौधरी र उनका पति विनय चौधरीसँग यसबारे जानकारी लिन खोज्दा सांसद चौधरी बिरामी रहेकोले कुरा गर्न नसक्ने भनियो भने उनका पति विनय सम्पर्कमा आउन चाहेका छैनन् । रासस