पोखरा– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पोखरास्थित राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयको आज निरीक्षण गरेका छन्।


ADVERTISEMENT


उनले कार्यालयको भौतिक अवस्था तथा यहाँबाट भइरहेका समाचार सेवा सम्बन्धमा जानकारी लिँदै सरकारी सञ्चारमाध्यमको साधनस्रोत एकीकृत गर्दै त्यसलाई उपयोग गर्न सकिनेमा जोड दिए ।


ADVERTISEMENT

# # #


पोखरामा रहेको राससको जग्गा केन्द्रस्थानमा रहेको बताउँदै उनले प्रदेशको पनि संरचना भइसकेका अवस्थामा यसलाई राम्रो आम्दानी गर्ने गरी उपयोग गर्न सकिने उल्लेख गरे । सरकारी सञ्चारमाध्यमका छरिएर रहेका जग्गा संरक्षण गर्न आवश्यक रहेकामा पनि मन्त्री बाँस्कोटाले जोड दिए ।

मन्त्री बाँस्कोटालाई रासस गण्डकी प्रदेश कार्यालयको भौतिक अवस्थाका साथै कार्यालय र अन्तर्गतका जिल्लाबाट सम्प्रेषण भइरहेका समाचार सम्बन्धमा उपसमाचारदाता वासुदेव पौडेलले जानकारी दिएका थिए ।

मन्त्री बाँस्कोटाले आजै पोखरास्थित नेपाल टेलिकम, क्षेत्रीय हुलाक निर्देशनालय र रेडियो नेपालको प्रदेश प्रसारण कार्यालयको निरीक्षण गरी बदलिँदो समयको मागलाई दृष्टिगत गरी सोहीअनुरुप देश र जनतालाई केन्द्रमा राखेर क्रियाशील हुन निर्देशन दिए ।