चितवन– सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ ।


ADVERTISEMENT


नेपाल सरकारको तीन सय शैयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी हाल अस्पतालमा छ सय शैयया सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रबिन खड्काका अनुसार राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुखलगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


मुलुकको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित त्यसवरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो ।

काठमाडौँको प्रसुतिगृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल हो । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्ववतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

मेडिकल सुपरिटेण्डेन्ट खड्काका अनुसार १४ वटा विभागमार्फत् अस्पतालले सेवा दिँदै आएको छ । राजधानी बाहिर अन्य अस्पतालले सो परिमाणमा सेवा दिन नसकेको उनको दाबी छ ।

प्रदेश नं ३ का सांसदसमेत रहनुभएका अस्पताल विकास समितिका पूर्वअध्यक्ष बिजय सुबेदीले अस्पताललाई कम पूर्वाधार विकास गरेर पनि सुविधासम्पन्न बनाउन सकिने भएकाले भरतपुर अस्पताललाई केन्द्रीय तहको अस्पताल बनाउनुपर्ने बताए । प्रकोपका बेला नागरिकलाई छिटो छरितो सेवा दिन सक्ने गरी देशकै नमूना अस्पताल भरतपुरलाई बनाउन आवश्यक रहेको उनी बताउँछन् ।

अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्ष, शल्यक्रियाका लागि छ वटा अत्याधुनिक टेवल, न्यूरो सर्जरी उपकरण, डायलसिस सेवा, जोर्नी प्रत्यारोपण सेवा, सिटिस्क्यानलगायत सेवा उपलब्ध छ ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारी यस क्षेत्रका २२÷२३ जिल्लाका बिरामीलाई सेवा दिने अस्पताल केन्द्रीय तहको अस्पताल हुनुपर्ने बताउँछन् । यसका लागि सरकारले नीतिगत निर्णय गरेर आवश्यक भौतिक पूर्वाधार थप गरी देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्नेमा उनले जोड दिए ।

अस्पतालको आफ्नै नाममा ३१ बिगाहा ११ कट्ठा जग्गा रहेको छ । अस्पतालमा हाल प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ पढाई भइरहेको छ । अस्पतालमा सरकारी र विकास समितितर्फ गरी ६७२ कर्मचारी कार्यरत छन् । एक सय २३ चिकित्सक मात्र कार्यरत छन् । रासस