नेपालगञ्ज– नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।


ADVERTISEMENT


नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो । अहिले नेपालगञ्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ ।


ADVERTISEMENT

# # #


रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना बनाइएको छ भने फ्लोरिङ गर्ने काम शुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

झण्डै रु १८ करोडको लागतमा रंगशालामा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ । अध्यक्ष ओलीका अनुसार पूर्वाधार निर्माणअन्तर्गत रंगशालामा रु सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । रंगशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेन्ज निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअर गन खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको क्षेत्रीय खेलकूद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए ।

बाँके जिल्लाको कोहलपुर क्रिकेट मैदान वरिपरि पर्खाल, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रंगशाला र बर्दियाको गुलेरिया र ठाकुरद्धारामा खेलमैदान र कबर्ड हल मर्मत र निर्माणको काम भइरहेको बताइएको छ ।

नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई मष्कटको रुपमा पारित गरिएको छ ।

केही दिनअघि खेलकूद मन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षा समेत गरेको थियो ।

प्रतियोगिता समयमै आयोजना गर्न संघीय, प्रदेश नं ५ र त्यसअन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकूद विकास समितिले र सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न पटकपटक आग्रह गर्दै आएको छ ।

आगामी मंसिर २१ गतेदेखि नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।