काठमाडौं– बंगलादेशमा एमबिबिएस अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । एमबिबिएसको पढाइ सकेर एक साताअघि मात्र इन्टर्सिप सुरु गरेका राजिव श्रीवास्तवले बुधबार आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


उनले ढाकास्थित कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेका थिए । पढाइ सकेपछि हालै मात्र अस्पतालमा इन्टर्नसिप गर्न सुरु गरेका उनले कलेजका प्रिन्सिपलसँगको विवादका कारण आत्महत्या गरेको खबर बाहिर आइरहेको छ । बंगलादेश प्रहरीले भने आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


कलेजले उनीसँग अतिरिक्त शुल्क माग गरेपछि विवाद बढेको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले जनाएका छन् । श्रीवास्तवले आत्महत्या गरेपछि कलेजका प्रिन्सिपल मिर्जा मन्जुरुल हकले ‘आत्महत्या सामान्य कुरा हो’ भनेपछि नेपालीसहित बंगलादेशी विद्यार्थी आक्रोशित बनेका छन् ।

नेपाली विद्यार्थीका अनुसार श्रीबास्तावले होस्टलको कोठामा बुधबार बिहान साढे ११ बजे झुन्डिएर आत्महत्या गरेका हुन् । उनी होस्टलको कोठा नम्बर ३२० मा बस्दै आएका थिए ।

उनीसँगै रहेका साथी बाहिर गएको समयमा उनले आत्महत्या गरेका हुन् । उनको बिहीबार मेमेनसिङ मेडिकल कलेजको शिक्षण अस्पतालमा पोस्टमार्टमा हुने बताइएको छ ।

उनका आफन्त बिहीबार बंगलादेश पुग्ने बताइएको छ । गत वर्ष पनि बंगलादेशको पायोनिय मेडिकल कलेजमा अध्यनरत एक छात्राले पनि आत्महत्या गरेकी थिइन् ।