काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।


ADVERTISEMENT


काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । काँग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिनुभएको सम्बन्धमा पार्टीले थप गम्भीररूपमा लिएको जनाएको छ ।

संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने उनले जानकारी दिएका छन् । प्रमुख सचेतक खाँणले भने, “सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरोस् भन्ने हामी चाहन्छौं, जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा काँग्रेसको ध्यान गएको छ ।”

बैठकमा संसदीय समिति गठनका सम्बन्धमा समेत छलफल हुने बताइएको छ । प्रतिनिधिसभाका १० विभिन्न विषयगत समितिमा रहने सांसदको नाम संसद्को बिहीबारको बैठकले अनुमोदन गरेको थियो । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । रासस