रत्ननगर– चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणग–­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

# # #


अहिले रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाउन थालिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताएका छन् । उनका अनुसार पहिरो खसेको स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम भने जारी नै छ । लोडरको सहायताले पहिरो पन्छाएर गाडी दुईतर्फी बनाउने प्रयास जारी रहेको गौतमले जानकारी दिएका छन् ।

राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा र चितवनबाट जाने गाडीलाई सिमलतालमा रोकेको थियो । सो क्षेत्रमा गाडीको लामो लाइन छ । एकतर्फी सडक खुलेपछि बीचमा अड्किएका गाडीलाई भने गन्तव्यमा पठाउन थालिएको छ ।

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो एक हप्तादेखि ढुंगा खस्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ । रासस