काठमाडौँ– पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ ।


ADVERTISEMENT


सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । पछिल्लो पटक नियमित वर्षा भइरहेकाले दुई दिन घाममा गर्नुपर्ने काम नसकिँदा सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिए ।

“दुई दिन मात्र घाम लागे अलकत्रा हालेर त्यसमाथि केही गिट्टी छरेर ‘अण्डरपास’ सञ्चालनमा आउने थियो, मौसम बदली भइरहेकाले दुई दिनको काम रोकिएकाले सञ्चालनमा ल्याउन सकिएन”, उनले भने ।

चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो ।

कोटेश्वर–बल्खुपुल–कलंकी १०.४ किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो । निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

दोस्रो चरणमा कलंकीबाट महाराजगञ्जसम्म ८.५ किमी सडक विस्तारका लागि गृहकार्य शुरु भएको सडक विभागले जनाएको छ । यो खण्डको सडक किनारका विद्युत्, टेलिफोन र खानेपानीका तार एवम् पाइपलगायत अस्थायी संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

साउन अन्तिमसम्म यो खण्डको पनि प्रारम्भिक नमूना तयार हुने विभागले जनाएको छ । चीन सरकारले नै नमूना तयारी गरिरहेको जनाइएको छ । त्यसलगत्तै काम शुरु हुनेछ । यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ । अठ्ठाइस किमी चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन ।

यस खण्डमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जगबागेश्वरीसमेत पर्ने भएकाले विस्तारमा समस्या आइपरेको छ । यो खण्डमा बाक्लो बस्ती रहेकाले हटाउन मुआब्जामै ठूलो धनराशि लाग्छ ।