एजेन्सी– जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


जर्मनी विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनीका लागि गोमेजजले तीनै खेलमा मौका पाए पाएका थिए तर वैकल्पिक खेलाडीको रुपमा । जर्मन बुन्डेस लिगा क्लबभिएफबी स्टुटगार्टका गोमेजले विश्वकपमा कुनै पनि गोल गरेका थिएनन् ।


ADVERTISEMENT

# # #


प्रशिक्षक जोचिम लोउसँगको सल्लाहमै आफूले सन्यास लिएको उनले बताएका छन् । ‘सन्यास अघि मैले प्रशिक्षक लोउसँग सल्लाह मागेको थिएँ । हामीबीच राम्रो छलफल भएको थियो,’ गोमेजले फेसबुकमा लेखेका छन्, ‘मेरो लागि रसिया विश्वकप एक सपना थियो । तर, हामीले समूह चरण पार गर्न सकेनौ । यसले पनि हामीलाई प्रभाव पार्यो । आजको दिनलाई सन्यास लिने उपयुक्त समय ठानेको छु ।’

जर्मनको राष्ट्रिय टिमबाट खेल्न पाउनु आफूलाई सबैभन्दा ठूलो भाग्यमानी ठानेको भन्दै उनले अन्तिम ठूलो प्रतियोगिता सम्झनयोग्य बनाउन नसकेकोमा दुखेसो पोखेका छन् । गोमेजले जर्मन टिममा थुप्रै नयाँ युवा प्रतिभा आइसकेकाले पनि आफ्नो लागि सन्यासको समय आइसकेको बताएका छन् ।

सन् २००७ मा स्वीटजरल्याण्डबिरूद्ध जर्मनीको लागि राष्ट्रिय टिममा डेब्यू गरेका गोमेजले ७८ खेलमा ३१ अन्तर्राष्ट्रिय गोल गरेका छन् । गोमेज रसिया विश्वकपपछि जर्मनीबाट सन्यास लिने दोस्रो खेलाडी हुन् । यसअघि मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।