काठमाडौं–अघिल्लो साता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा जाने कार्यक्रम तय भयो । उनी कलैया उपमहानगरपालिकासँगैको विश्रामपुर गाउँपालिकामाको कार्यक्रममा सहभागी हुँदै थिए ।


ADVERTISEMENT


यो कुरा कलैया उपमहानगर–२३ का वडाअध्यक्ष विक्रम साह कानुले थाहा पाए । उनको वडामा पर्ने ९ किलोमिटर सडक कालोपत्रे गर्ने सहरी विकास मन्त्रालयको योजना थियो । तत्कालीन माओवादी केन्द्रबाट चुनाव जितेका उनले सो सडकको कालोपत्रेको शिलान्यास आफ्ना पार्टी अध्यक्ष प्रचण्डबाट गराउने योजना बनाए ।


ADVERTISEMENT

# # #


उनले वडा कार्यालयको बैठक डाके । सो बैठकमा स्थानीय पनि आएका थिए । बैठकले निर्णय गर्‍यो– बाटोको नाम प्रचण्डपथ राख्ने ।

आइतबार आयोजित एक कार्यक्रममा कलैयाको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको बाटोको नाम प्रचण्डपथ घोषणा गरे । नेकपा अध्यक्ष दाहालले आफ्नो नामको बाटोको कालोपत्रेको शिलान्यास गरे । ‘त्यत्रो नेता आएर शिलान्यास गरेपछि उहाँको नाममा राखिदिए राम्रो हुन्छ भनेर वडाबाट निर्णय गरी प्रचण्डपथ राखेका हौं,’ वडाअध्यक्ष साहले भने,‘नामबारे उहाँले केही सोध्नुभएन बरू बाटो बनाउन सक्दो सहयोग गर्ने बताउनुभयो ।’

करिब ९ किलोमिटरको सो सडक निर्माणका लागि ४८ करोड ९३ लाख ३८ हजार लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।

‘बाटोमा विस्तार अलिअलि समस्या पनि छ । ठूला नेताको नाम भएपछि उहाँले पछि सहयोग गर्नुहुन्छ,’ वडाध्यक्ष साहले भने ।

उपमहानगरपालिकाले भने बाटोको नाम प्रचण्डपथ राख्नेबारे केही निर्णय नभएको जनाएको छ । कलैया उपमहानगरमा मेयर र उपमेयर दुबै नेपाली कांग्रेसले जितेको छ ।

उपमेयर रहिमा खातुनले वडा कार्यालयबाट निम्तो आएकाले शिलान्यासमा गएको तर नामबारे नगरपरिषदमा कुनै कुरा नभएको बताइन् । कलैयाका मेयर राजेश राय यादव पारिवारिक कामले भारत गएका छन् ।

वडाअध्यक्ष साहले नगरपरिषदबाट नाम पास गर्नुपर्छ कि पर्दैन भन्नेबारे आफूलाई जानकारी नभएको बताए ।

‘उहाँ आउने भनेपछि सबै कुरा हतार/हतारमा भयो । नगर परिषद्को बैठक पनि बसेको थिएन । पास गर्नुपर्ने भए निवेदन दिन्छौं,’ साहले भने ।

सरकारले पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, बीपी कोइरालालगायत दिवंगत नेताहरूका नाममा विभिन्न राजमार्गको नामाकरण गरेको छ । तर कुनै नेताले आफ्नो नामको बाटो शिलान्यास गरेका घटना यसअघि बिरलै भएका छन् ।