‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो ।


ADVERTISEMENT


पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो । पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्ने कोसिस गर्नुस् बरु गाउँकै घरमा गइजाउँला ।’


ADVERTISEMENT

# # #


उनी एकोहोरो बोलिरहेकी थिइन्, ‘कोही बचाउन आउँछन् कि अलि जोडले कराउनुस् है, ढिला भए मरिन्छ फेरि ।’

१० वर्षअघि प्रेम विवाह गरेका लालबहादुर र सितलाको जोडी आइतबारको पहिरोका कारण सधैंका लागि छुट्यो । भविष्यमा धेरै पढेर स्कुलमा पढाउने जागिर खाने लालबहादुरकी जेठी छोरी भगवती विक र डाक्टर बन्ने रञ्जनाको सपना पनि पहिरोसँगै पुरियो ।

पहिरोले घर पुरिँदा चेपिएर आधा घन्टासम्म जीवितै भए पनि उद्धारको अभावमा ज्यान गुमाएकी भेरी नगरपालिका ६ गंगटियाकी सितलाले आफू जीवित रहँदासम्म तीन छोरी र श्रीमान्को मात्रै चिन्ता गरिरहेकी थिइन् ।

सितलाले जति बोले पनि भत्किएको कोठाको कुनामा काठले चेपिएका लालबहादुरले घाइते श्रीमतीको कुरा सुन्नबाहेक केही गर्न सकेनन् ।

श्रीमतीको पीडायुक्त बोली मिसिएको सुनेर गाउँलेसँग गुहार माग्न धेरै कोसिस गरे उनले तर गाउँलेको कानमा आवाज पुग्न नपाउँदै सितलाले उनकै काखमा प्राण त्यागिसकेकी थिइन्। – आजको नागरिक दैनिकबाट