काठमाडौं–डा. गोविन्द केसी १३ दिनको उपचारपछि मंगलबार डिस्चार्ज भए । उनको दाहिने हातमा क्यानुला खोलिएको थिएन । अनुहार धमिलो थियो । ओठ सुकेका थिए । सधैं लम्कने उनी विस्तारै पत्रकार सम्मेलनमा आए ।


ADVERTISEMENT


सरकारसँगको सम्झौता कार्यान्वयन ढिला हुँदै गएकोमा केसीले चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भइसकेको छैन । सत्तापक्ष र विपक्षी दुवैले विधेयकमा संशोधन प्रस्ताव हालेका छन् । मन्त्रिपरिषदबाट सम्झौता अनुमोदन गर्ने बुँदा पनि कार्यान्वयन भएको छैन ।

नौबुँदे सम्झौतामा उनका तीनवटा माग सम्बोधन गर्न छुट्टाछुट्टै कार्यदल गठन गर्ने उल्लेख थियो । सरकारले ती कार्यदल गठन गरेको छैन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत स्नातक तहका विद्यार्थी भर्ना सम्बन्धमा कार्यदल गठन गर्ने सम्झौतामा छ । कार्यदलमा संघीय सरकार, कर्णाली सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधि र विज्ञ रहने छन् ।

विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारणका लागि १५ दिनभित्र कार्यदल गठन गर्ने उल्लेख भएकोमा त्यसको पनि सुरसार छैन । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजकत्वमा सम्बन्धित विज्ञ र कानुनवेत्ता सहितको कार्यदल गठन गर्ने भनिएको छ । कार्यदलको अवधि एक महिनाको हुनेछ ।

त्यस्तै, न्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको चिकित्सा शिक्षा न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई कारबाही गर्न दुई महिनाभित्र प्रक्रिया सुरु गर्न सरकार सहमत भएको छ । दुई साता बित्न लाग्दा पनि चाइँचुइँ सुनिएको छैन ।

डा. केसीले यी सबै सम्झौता तुरुन्त कार्यान्वयनमा लगियोस् भनेर सरकारको ध्यानाकर्षण गराएका छन् । छलछाम भए कडा संघर्ष गर्ने चेतावनी पनि दिएका छन् ।

पत्रकार सम्मेलनमा डा. केसीले बिरामी जाँच्न नपाएकोमा दुःख पोखे । ‘बिरामीको सेवा गर्न नपाएकोमा दुःखी छु, माफी चाहन्छु,’ निधारमा हात राखेर केसी भक्कानिए ।

यसअिघका अनसन उनी टिचिङ अस्पतालमै बस्थे । ‘फलोअप’ मा बिरामीसँग अनसनस्थलमै भेट हुन्थ्यो । यसपटक जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसे । यहाँका बिरामीसँग भेट हुन पाएन ।

अनसन बस्दा बिरामी र विद्यार्थी दुवैलाई मर्का परेको उनले बताए । ‘मलाई जहिल्यै यो महसुस हुन्छ,’ उनले भने, ‘त्यसैले फेरि अनसन बस्न नपरोस् भनेको हुँ ।’

चिकित्सा शिक्षा विधेयकसहित सम्झौताको कुनै पनि बुँदा तलमाथि पार्न नहुने उनको अडान छ । ‘सत्तारुढ दलबाट सहमति अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ,’ केसीले भने, ‘तोडमरोड भयो भने म फेरि तपाईंहरूलाई बोलाउँछु ।’

‘१६ औं पटक अनसन बस्ने ?’ पत्रकारको प्रश्नमा केसीले भने, ‘सरकारसँग सम्झौता हुन्छ, कार्यान्वयन हुँदैन । बरू सम्झौताविपरीत राज्यबाट चलखेल हुन्छ । यसपालि राज्यपक्ष इमानदार भइदिन्छ भन्ने विश्वास लिएको छु । भएन भने त मेरो विकल्प सत्याग्रह नै हो ।’

संसदमा दर्ता चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ । सोही विधेयक संशोधनसहित ७ बुँदे माग राखेर केसी अनसन बसेका थिए । उनी २७ दिन अनसन बसे । यो अहिलेसम्मकै सबभन्दा लामो थियो ।