काठमाडौँ– विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ ।


ADVERTISEMENT


विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले आज लामालाई कैद र रु एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’का उम्मेदवार लामाले आपराधिक गतिविधिबाट रु २७ करोड एक लाख सम्पति जोडेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेर २०७० साल जेठ ५ गते लामासहित पाँच जना विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उपलब्ध गराएको थियो । विभागले सोहीअनुसार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लामा बाहेक पाल्साङ लामा, रञ्जु लामा, विनोद लामा, राकेश लामा र लक्ष्मी लामालाई अदालतले सफाइ दिएको छ ।

लामाको नाममा काठमाडौँ, भक्तपुर र ललितपुरमा २०५ रोपनी जग्गासहित रु २७ करोड एक लाख नगद अवैध रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । लामा हाल हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन् ।