चितवन– गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको स्पष्ट पारे ।


ADVERTISEMENT


“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने । एक प्रश्नमा मन्त्री थापाले भने, “म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको मन्त्री थापाको भनाई थियो । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न प्रहरी सफल भएको मन्त्री थापाले बताए । गृह मन्त्रालयमा प्राप्त प्रतिवेदनअनुसार उक्त घटना मुठभेडबाट भएको उनको भनाई थियो । “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ,” मन्त्री थापाले भने ।

सुन तस्करीको अनुसन्धान जारी रहेको र तस्कर नछुट्ने बताउँदै गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सकेको छ भने । अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद् व्यवस्थापनमा सरकार लागिपरेको छ भने ।