काठमाडौँ– बिपी विचार राष्ट्रिय समाजले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले गरेका कमीकमजोरी अबका निर्वाचनमा सच्याउन माग गरेको छ।


ADVERTISEMENT


समाजका सभापति सांसद कुलबहादुर गुरुङको नेतृत्वमा आज बिहान गएको प्रतिनिधिमण्डलले सभापति शेरबहादुर देउवालाई भेटी पार्टी सङ्गठन र राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल गरी सुझाव दिने क्रममा यस्तो माग गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा काँग्रेस सहभागी भएको सरकारले गरेका कतिपय निर्णयले पार्टीको लोकप्रियतामा पारेको नकारात्मक प्रभाव र पहिलो चरणको निर्वाचनमा पार्टीले प्रतिबद्ध एवम् लोकप्रिय व्यक्तिलाई टिकट नदिँदा स्थानीय तहको निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न नसकेकोतर्फ सभापति देउवाको ध्यानाकर्षण गराइएको समाजका महासचिव विनयध्वज चन्दले बताए।


ADVERTISEMENT

# # #


“दोस्रो चरणको स्थानीय तह, प्रदेश र संसद्को निर्वाचनमा उम्मेदवार तय गर्दा पहिलो चरणको निर्वाचनमा भएको कमजोरीलाई नदोहोर्‍याई निश्चित विधि र प्रक्रिया निर्धारण गरेर लोकप्रिय उम्मेदवार तय गर्न माग गरेका छौँ”–उनले भने। पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाका कारण जनतामा पर्न गएको निराशालाई चिर्र्दै सरकारको नेतृत्व गर्दा स्पष्ट र लोकप्रिय राजनीतिक अडानका साथ प्रस्तुत हुनुपर्ने समाजको माग छ।

पार्टीलाई थप वैचारिक स्पष्टता र नवीन कार्यक्रमका साथ परिचालित गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिमण्डलले सुझाव प्रस्तुत गरेको महासचिव चन्दले बताए। प्रतिनिधिमण्डलको सुझावको प्रत्युत्तरमा सभापति देउवाले पहिलो चरणको निर्वाचनमा देखिएका कमी कमजोरीलाई हटाई पार्टीलाई थप गतिशील बनाउने र काँग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने वचनबद्धता प्रकट गरेका छन्।

प्रतिनिधिमण्डलमा समाजका सहअध्यक्ष गोविन्दराज जोशी, महासचिव चन्द, सहसचिव रामबहादुर गुरुङ, संस्थापक सदस्यद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकाल सहभागी थिए। रासस