बैतडी– आज बिहान पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको गोकुलेश्वर–दार्चुलाको खलङ्गा सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँज नजिक सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिएका छन् । बिहान १० बजे खसेको पहिरोका कारण उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको छ ।


ADVERTISEMENT


केही दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग सञ्चालनका लागि बैतडीको पाटनबाट डोजरलाई पठाइएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् । लगातारको पानी, त्यसमा पनि ठूलो पहिरो खसेकाले गाह्रो भएको छ, उनले भने, “डोजरले पहिरो पन्छाउन नसक्दा ठूलो मेसिन लगाउने तयारी गरेका छौं ।”


ADVERTISEMENT

# # #


राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा र बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी र बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ । रासस