बेनी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो ।


ADVERTISEMENT


रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिए पनि बिहानपख पहिरो गएकाले भागदौड गरी स्थानीयले ज्यान जोगाएको स्थानीय व्यवसायी काशीराम पुनले जानकारी दिएका छन् । पहिरोले चार घरभित्र रहेका खाद्यान्न, लत्ताकपडालगायत सबै सामान पुरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


बिलबाङमा साना ठूला पहिरोबाट ११ घरधुरी थप उच्च जोखिममा परेका छन् । काशीराम पुन, बुद्धिराम पुन, दलबहादुर पुन, मनमान पुन, तमबहादुर पुन, हर्कलाल रोका, तुलबहादुर रोका, तुलप्रसाद पुन, बलबहादुर घर्ती, जुद्धमान पुन, महेन्द्र पुनको घर जोखिममा परेका छन् ।

पहिरोमा परेर घाइते भएका आमा छोरा मीराकुमारी पुन र वसन्त पुनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको र क्षतिको अवस्थाबारे गाउँपालिका र सुरक्षा निकायलाई जानकारी गराइएको वडाध्यक्ष नरबहादुर पुनले बताएका छन् ।

पहिरो प्रभावित भएका स्थानमा नजीकका पोष्टबाट प्रहरी परिचालन गरी क्षतिको विवरण सङ्कलन र उद्धारमा खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । रासस