काठमाडौं– आइतबार बेलुका खाना खाएर आफ्नै निवासको कोठामा सुतेका फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ । काठमाडौंको बबरमहलस्थित ओलम्पिया कलेजसँगै जोडिएको झाको निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


झाको हत्या शंकास्पद रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । आइतबार साँझ खाना खाएर आफ्नो कोठामा सुतेका झा सोमबार बिहान अवेरसम्म नउठेपछि उनको श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


एसएसपी सिंहका अनुसार झा सुतेको कोठा बाहिरबाट बन्द गरिएको थियो । दोस्रो तलामा बस्दै आएका झा सुतेको कोठाको झ्यालका जाली काटिएको छ । प्रहरीले घटनास्थलबाट एक चक्कु समेत फेला पारेको छ ।

झा श्रीमती र सहयोगी सानु तामाङसँग बस्दै आएका थिए । झाका एक छोरा र एक छोरी छन् । उनीहरू दुबैजना डाक्टर हुन् ।

घटना रहस्यमय रहेको भन्दै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । महानगरीय अपराध महाशाखाको टोलीले तालिम प्राप्त कुकुर प्रयोग गरी घटनाको अनुसन्धान थालेको छ।