काबुल– अफगानी सुरक्षाफौजले सोमबार उत्तरी कुन्दुज प्रान्तमा एक अपरेसन सञ्चालन गरी लडाकु समूह तालिवानले बन्धक बनाएका १४९ जनाको उद्दार गरेको छ । तालिवान लडाकुको कब्जामा रहेका बाँकी २१ जना बन्धकलाई छुटाउन सोमबार अपरान्हसम्म अपरेसन जारी रहेको अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT


उद्दार गरिएकाहरुमा महिला र बालबालिकासमेत छन् । यो अपरेसनले देशभरबाट तालिबानलाई परास्त गर्न सक्रिय रहेको अफगानी सुरक्षाफौजलाई उत्साहित बनाएको छ ।


ADVERTISEMENT

# # #


अफगानिस्तानका आन्तरिक मामिला मन्त्रालयका सहायक प्रवक्ता नसरत रहिमीका अनुसार सोमबार बिहान तालिवान लडाकुले खान आवाद जिल्लामा गुडिरहेका तीनवटा बसलाई एम्बुसमा पारेर त्यहाँ रहेका यात्रुको अपहरण गरेका थिए ।

रहिमीका अनुसार अफगानी सुरक्षाफौजले बसका १४९ जना यात्रुलाई छुटाए पनि छापामारहरुले अझै २१ जना यात्रुलाई बन्धक बनाएर राखेका छन् । सुरक्षा फौज र लडाकुबीच भएको दोहोरो भिडन्तको क्रममा कम्तीमा ७ जना तालिवान लडाकुको मृत्यु भएको पनि रहिमीले बताए ।

अफगानी राष्ट्रपति असरफ घानीले मुस्लिम धर्माबलम्बीहरुको पर्व इद अल अदाको लागि एक साताको लागि तालिबानसँग सशर्त युद्धविरामको घोषणा गरे पनि त्यसको उल्लंघन गर्दै तालिबानले एम्बुस थापेका थिए ।

पछिल्ला महिनाहरुमा तालिवानले हिंसात्मक गतिविधि बढाउँदै आएका छन् । तालिवानले अफगानिस्तानका विभिन्न जिल्ला कब्जा गर्ने र ठूलो स्तरमा बम र आत्मघाती हमलाहरु गर्ने गरेका छन् जसले धेरैको ज्यान गएको छ ।

कुन्दुज प्रान्तका प्रवक्ता इसमातुल्लाह मुरादीले पनि अगफगानी सुरक्षाफौजले तालिवानको कब्जाबाट १४९ जना बसयात्रुलाई छुटाएको र २१ जना अझै तालिवानकै कब्जामा रहेको पुष्टी गरे ।