एजेन्सी– क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र मोहम्मद सलाह युइएफए वर्ष खेलाडी अवार्डका लागि अन्तिम मनोनयनमा परेका छन् ।


ADVERTISEMENT


युरोपियन फुटबलको प्रशासकीय निकाय, युइएफएले हरेक वर्ष प्रदान गर्ने युइएफए वर्ष खेलाडी अवार्डका लागि युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो, रियल मड्रिडका मिडफिल्डर मोड्रिच र लिभरपुलका फरवार्ड सलाह अन्तिम तीनमा परेका हुन् । गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका हुन् ।


ADVERTISEMENT

# # #


रियलले अघिल्लो सिजनको च्याम्पियन्स लिग जितेको थियो । रोनाल्डोले रियलबाट कीर्तिमानी पाँचपटक च्याम्पियन्स लिगको उपाधि तथा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएका थिए । उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।

यस्तै रियलमा अघिल्लो सिजन उत्कृष्ट समय बिताएका मिडफिल्डर लुका मोड्रिच पनि अन्तिम तीनमा पर्न सफल भए । गोल्डेन बल विजेता मोड्रिचकै कप्तानीमा क्रोएसिया रसिया विश्वकपको उपविजेता बन्न सफल भएको थियो ।

इजिप्टका सलाहले इंग्लिस प्रिमियर लिगको डेब्यु सिजनमै उच्च प्रदर्शन गर्दा ४४ गोल गर्न सफल भएको थियो । च्याम्पियन्स लिगमा लिभरपुल उपविजेता बनाउन सलाहले उच्च प्रदर्शन गरेका थिए ।

खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् । जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन् ।

बार्सिलोनाका सुपरस्टार लियोनेल मेसी भने शीर्ष तीनमा पर्न सकेनन् ।

अन्तिम तीनमा परेकाबाटै वर्ष खेलाडीको छनोट हुनेछ । आगामी भदौ १४ गते मोनाकोमा हुने च्याम्पियन्स लिग फुटबलको समूह चरण ड्र को क्रममा वर्ष खेलाडीको घोषणा हुने युइएफएले जनाएको छ । यसअघि सन् २०१७ मा रोनाल्डोले उक्त अवार्ड जितेका थिए ।

यस्तै महिला वर्ष खेलाडीका लागि पिर्निली हार्डर, एडा हेगरबर्ग र एमान्डिन हनरी अन्तिम तीनमा परेका छन् ।

शीर्ष दश खेलाडीहरू

शीर्ष १० मा पर्न सफल बाँकी खेलाडीहरु

एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिड/फ्रान्स) – ७२ अंक
लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना) –५५ अंक
केलियन एमबाप्पे (पिएसजी/फ्रान्स) –४३ अंक
केभिन डि ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम) – २८ अंक
राफइल भरान (रियल मड्रिड/फ्रान्स) –२३ अंक
इडेन हजार्ड (चेल्सी/बेल्जियम) – १५ अंक
सर्जियो रामोस (रियल मड्रिड/स्पेन) –१२ अंक

पूर्व विजेता

२०११– लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना)
२०१२– आन्द्रेस इनिस्टा (बार्सिलोना/स्पेन)
२०१३– फ्रान्क रिवेरी (बायर्न म्युनिख/फ्रान्स)
२०१४– क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)
२०१५ – लियोनेल मेसी (बार्सिलोना/अर्जेन्टिना)
२०१६ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)
२०१७ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)