विराटनगर– प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा घर–घरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले खिसिट्यूरी गरे । भारतले नाकाबन्दी गरेर ग्यासको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थियो । तर, उनै प्रधानमन्त्री ओलीले भाषणलाई सार्थक बनाउँदै मंगलबार विराटनगरको जतुवामा पाइपबाट घर–घरमा लगिएको ग्यासको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


विराटनगर महानगरपालिकाको जतुवा पुगेर प्रधानमन्त्री ओलीले मंगलबार पाइपबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन् । ग्याँस उद्घाटन गर्दै प्रधानमन्त्रीले अब सिलीन्डरको डल्ला बोकेर हिंड्ने झन्झट नहुने समेत बताए ।


ADVERTISEMENT

# # #


उद्घाटनको अबसर प्रधानमन्त्रीले पाए पनि यसरी यो पाइपबाट भान्छामा ग्यास लैजाने काम भने सरकारले गरेको होइन, विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले गरेको हो । सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्ट हुँदै घर–घरमा पु¥याइएको हो । जतुवाका ३२ परिवारले गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले खाना पकाइरहेका छन् ।

पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ । उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्छ ।

सदन समितिले विश्व बैंकको सहयोगमा आर्थिक वर्ष ०७३/७४ मा विद्युत उत्पादन गर्ने उद्देश्यसाथ बायो ग्यास प्लाण्ट निर्माणको योजना बनाएको थियो । तर, मुलुकमा लोडसेडिङ अन्त भएपछि समितिले २०७४ फागुनमा ग्यास उत्पादन गर्ने निर्णय गरेको थियो । ३ सय २० घनमिटरको यस बायो ग्यास प्लाण्टमा दैनिक १ सय ६० किलो ग्यास उत्पादन हुन्छ । यो ग्यास तीन किलोमिटर क्षेत्रमा १ सय ५० घरलाई पुग्छ तर प्लाण्ट भएको क्षेत्रमा बाक्लो बस्ती नभएकोले अहिले एक किलोमिटर क्षेत्र वरपरका ८० घरमा मात्रै आपुर्ति गर्ने तयारी छ ।