सानैमा आमाको दूध नआएर
बढ्न बिर्सेको माक्ते


ADVERTISEMENT


सबैले जिस्क्याइ पठाउँछन्
दूध कटुवा भनेर ।


ADVERTISEMENT

# # #


उचाइले ठगेको बिचरा माक्ते !
होचो भएकैले स्कूल छोड्यो ।

लाहुर लाग्न नाप पुगेन ।
किताप पढ्न गिदी बाक्लो भो

अनि थाल्यो लाहुरे बाउले जोडिदिएको
बेँसी खेतमा हल गोरू नारेर बाँझो चिर्न ।

रोपाहार तरुनीहरुले जिस्क्याउँदा
रातो अनुहार लाउनुको विकल्पमा

हातै समातेर एक फन्को पालाम भन्न सक्तैन ऊ ।
तरुनी देख्यो भने बाटैबाट लुकी पठाउँछ सिरुबारीतिर

देख्नेहरुले कान्छी भन्दिन्छन् ।
माक्ते कान्छी होइन ,

उसको स्वभाव मात्रै ठ्याक्कै कान्छीको जस्तै छ ।
विहे ,बरखी , मेला पर्व जानै मान्दैन

जिस्क्याउनेहरुले ‘भौन चाँठा’ भन्छन्
ऊ बाहुन होइन र पनि ।

सँगैकाहरुले बेलैमा मेला पर्वबाटै जोहो गरेकाले बाउ बनिसके
माक्ते साना केटाकेटीले तुम्बा भनी जिस्याइ पठाउँदा

घोप्टे मुन्टो लाएर नास्पतीतिर
हेर्नबाहेक केही भन्न सक्दैन ।

बाबुले झुक्की पठाको हो कि शङ्का गर्छन्
ख्याल अन्दाजमा कुरा काट्न मिलेन ।

ऊ न आमा न बाबु जस्तो छ ,
बाबु त विश्वास मात्तै भन्छन्

सत्ते त आमा नै हो ,
आमालाई सोधी पठाउनेहरुले

हाट मेलामा माती गकोबेला खै भन्छिन्
माक्ते न आफन्त जस्तो नै छ ।

भन्नेले त पारि मावली गाउँको संभोगबादुर जस्तै भन्छन् ।
यसैपाल साथीको लहैलहैमा लागेर पुसे मेला गयो माक्ते

समायो पहिलोचोटी मेन्छ्युमाको हात ,
दुईचार खोरे बजाएकै भरमा

सकी नसकी गायो पालाम ।
बितायो हप्ता दिन फेदेनमै

फकाइदिए केटैहरुले सोल्टिनी
ल्यायो नयाँ बुहारी माक्तेले ।

खुशीले फुक्यो गाउँ
भरखरै बुहारी भित्र्याएको तीन महिनामै

बाबु बन्यो माक्ते
आफन्त डाकेर विहे खुवाउनुपूर्वै ।।

आर पी गाउँले
आठराई–२ तेहृथुम