तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकामा वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा मिलोस र नेपाली नागरिक डा चिरञ्जीवि खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिकस्थलमा प्रदूषण मापन गरेको थियो ।


ADVERTISEMENT


सो टोलीले वायुप्रदूषणको प्रारम्भिक अध्ययनमै त्यति राम्रो नदेखिएको र विस्तृत अध्ययन प्रतिवेदन केही समयपछि ल्यावमा परीक्षण गरेर जानकारी दिने उपमहानगरले जनाएको छ ।


ADVERTISEMENT

# # #


तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययनअनुसार वीरेन्द्र चोकमा वायुप्रदूषणको असर सबैभन्दा बढी भएको पाइएको छ । पुराना गाडीबाट निस्कने धुँवाले वायुप्रदूषण बढाएकाले घटाउनका लागि फोहर व्यवस्थापनका साथै रुख रोप्न ध्यान दिनुपर्ने सुझाव दिइएको छ । विकसित देशमा हरियाली बनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा बिरुवा लगाउने गरेको तर नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको डा चिरञ्जीवि खड्काले बताएका छन् ।

वायुप्रदूषणका दृष्टिले नेपाल अछुतो नभएको बताउँदै चेक रिपब्लिकका प्राध्यापक पावेलले जनतालाई यसबारे सचेत गराउनु आवश्यक रहेको बताए । “विश्वमा प्रतिक्युविक ५० माइक्रोमिटरसम्मको वायु प्रदुषणलाई सामान्य मान्ने गरेकामा तुलसीपुरमा तीन सय माइक्रोमिटरसम्म वायुप्रदूषण भएको पाइएकाले बाटो र घर सफा हुँदैमा वायुप्रदूषणको अवस्था राम्रो छ भन्ने हुँदैन” उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहल गर्ने बताएका छन् । तुलसीपुर नगरलाई वायुप्रदूषणमुक्त बनाउनका लागि नगरका विभिन्न गल्लीमा बिरुवा लगाउने कामलाई निरन्तरता दिएको उनको भनाइ थियो । “हामीले गरेको फोहरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन,” नगरप्रमुख पाण्डेले भने ।