भीमदत्तनगर– कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भई स्थिति नियन्त्रण बाहिर गएपछि कर्फ्यु लगाईएको छ ।प्रशासनले अर्को सूचना नआउन्जेल सम्मका लागि कर्फ्यु जारी रहने बताएको छ ।


ADVERTISEMENT


आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् । गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन् ।

घटनाको छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ ।