काठमाडौँ– अनन्तराम केसी लगातार लामो समय बोलेर विश्वकिर्तिमान बनाउने तयारी लागेका छन् । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीको गोकर्णेश्वर–५ स्थित इस्टपोल स्कुलमा शुरु हुनेछ ।


ADVERTISEMENT


अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको हो ।


ADVERTISEMENT

# # #


शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिएका छन् ।

नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरे पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ ।

यस विश्व किर्तिमान अभियानको संयोजन न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष समेत रहनु भएका सामाजिक अभियन्ता कुमार राज सुवेदीले गरिरहेका छन् ।

‘केसी अभियानलाई राज्यले नै सहयोग गर्नुपर्छ’
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानलाई राज्यले नै सहयोग गर्नुपर्ने बताएका छन् ।

राजधानीमा विहिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले केसीको अभियान राष्ट्रिय पहिचान तथा स्वाभिमानसँग जोडिएकाले सबैले सहयोग गर्नुपर्ने बताएका हुन् ।

केसीको लक्ष्य निर्धारण, एकाग्रता, समर्पण तथा प्रतिबद्धताबाट आफू प्रभावित भएको भन्दै रेग्मीले केसीले नयाँ कीर्तिमान कायम गर्नेमा आफू ढुक्क रहेको समेत बताए ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केसीको अभियानलाई कुनै पनि आग्रह पूर्वाग्रह विना सिंगो राष्ट्रिय एजेण्डाको रुपमा लिनुपर्ने बताए ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतले केसीको अभियानलाई सबै सच्चा नेपालीले सहयोग गर्नुपर्ने धारणा राखे । सांसदद्वय हितबहादुर तामाङ, नारायण खतिवडा, शिवपुरी गाउँपालिकाका पूर्व अध्यक्ष रामकृष्ण थापा, अभियानका आर्थिक संयोजक रविनप्रसाद थपलिया लगायतले केसीको अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।