काठमाडौँ– ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


यसपटकसमेत गरी उनले चार पटक प्रधानमन्त्रीका रुपमा नेपालको बागडोर सम्हालेका छन् । काँग्रेस संसदीय दलको नेतृत्व गर्दै २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा २०५८ र २०६१ सालमा पनि प्रधानमन्त्री बनेका थिए ।


ADVERTISEMENT

# # #


विसं २०४८, २०५१ र २०५६ को संददीय निर्वाचनमा डडेल्धुरा क्षेत्र नं. १ बाट निर्वाचित भएका सभापति देउवा विसं २०६४ को संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली तथा २०७० को संविधानसभा निर्वाचनमा डडेल्धुरा–१ र कञ्चनपुर–४ बाट विजयी भएका थिए । संविधानसभा निर्वाचनमा दुई ठाउँबाट निर्वाचित भए पनि संवैधानिक व्यवस्थाअनुसार हाल उनले डडेल्धुरा–१ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् ।

राजनीति सङ्घर्षका क्रममा नौ वर्ष जेल जीवन बिताएका देउवा पूर्वगृहमन्त्री र माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्षसमेत थिए । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा देउवालाई प्रधानमन्त्री पदबाट पदच्यूत गरेका थिए । त्यसको दुई वर्षपछि (२०६१ सालमा) राजा ज्ञानेन्द्रले देउवालाई पुनःप्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपालको इतिहासमा प्रथम (प्रधानमन्त्री) मुख्तियार प्राप्त गर्ने व्यक्ति भीमसेन थापा थिए । विसं १८६३ देखि १८९४ सम्म (झन्डै एकतीस वर्ष) मुख्तियार भई शासनसत्ता सञ्चालन गरेका थापा राष्ट्रिय विभूतिसमेत हुन् ।

त्यसैगरी रणजङ्ग पाण्डे (१८९६–१८९७), पुष्कर शाह (१८९५–१८९६), पण्डित रङ्गनाथ पौड्याल (१८९४–१८९५) नेपालमा (प्रधानमन्त्री) मुख्तियार भई शासन व्यवस्था सञ्चालन गर्ने व्यक्ति हुन् । तत्कालिन अवस्थामा राजा राजेन्द्र, रानी लक्ष्मीदेवी र राजकुमार सुरेन्द्रले आ–आफ्नै ढङ्गबाट शासन सञ्चालन गरेपश्चात दरबारमा देखिएको फुटलाई शक्तिमा रुपान्तरण गर्दे जङ्गबहादुर राणा नेपालको प्रधानमन्त्री भए । यसअघि माथवरसिहं (जङ्गबहादुर राणाको मामा) विसं १९०० देखि १९०२ सम्म नेपालको प्रधानमन्त्री भएका थिए ।

झन्डै ३० वर्षसम्म (१९०३–१९३३) नेपालको प्रधानमन्त्री भएका राणा प्रधानमन्त्री जङ्गबहादुरले कोतपर्वको रचना गरेका थिए । फलस्वरुप नेपालमा विसं १९०३ देखि २००७ सम्म जहानियाँ राणशासन रह्यो ।

नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर हुन् । जङ्गबहादुरले भाइहरुलाई रोलक्रमअनुसार नेपालको प्रधानमन्त्री बनाए । बमबहादुर राणाले विसं १९१३ देखि १९१४, रणोद्वीप सिंह राणाले १९३३ देखि १९४२, वीरशम्सेरले १९४२ देखि १९५७, देवशम्सेरले १९५७ देखि १९५८, चन्द्रशम्मेरले १९५८ देखि १९८६, भीमशम्सेर १९८६ देखि १९८९, जुद्धशम्सेरले १९८९ देखि २००२, पद्यमशम्सेरले २००२ देखि २००५¬ र मोहनशम्सेरले २००५ देखि २००८ सम्म प्रधानमन्त्रीका रुपमा नेपालमा शासन गरे ।

राणा शासनको अन्त्यसँगै भारतबाट फर्किएका राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई विसं २००८ देखि २००९ र विसं २०१० देखि २०११ सम्म प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि क्रमशः टङ्कप्रसाद आचार्य (२०१२–२०१४), डा केआई सिंह (२०१४–२०१५) सम्म नेपालको प्रधानमन्त्री भएका थिए ।

विभिन्न कालखण्डमा प्रधानमन्त्री पदको सट्टामा मन्त्रिपरिषद्को अध्यक्षका रुपमा समेत केही व्यक्तिले मुलुकमा शासन गरे । राजा महेन्द्रले सुवर्ण शम्सेरको अध्यक्षतामा विसं २०१५ देखि २०१६, डा तुलसी गिरीको अध्यक्षतामा २०१९ देखि २०२१ र २०३२ देखि २०३४ तथा सूर्यबहादुर थापाको अध्यक्षतामा २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को गठन गरेका थिए । त्यस्तै विसं २०६९ मा पनि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको थियो ।

विसं २०१६ देखि २०१७ सम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला थिए । राजा महेन्द्रले विसं २०१९ सालमा पञ्चायत व्यवस्था लागू गरेपछिको पहिलो प्रधानमन्त्री डा तुलसी गिरी भए । पञ्चायतकालमै सूर्यबहादुर थापाले विसं २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को अध्यक्ष र विसं २०२३ देखि २०२५ तथा विसं २०३६ देखि २०४० सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए। बहुदलीय व्यवस्थापछि विसं २०५४ र २०६० मा समेत उनी प्रधानमन्त्री थिए ।

पञ्चायतकालमा क्रमशः कीर्तिनिधि विष्ट (२०२५–२०२६), २०२८–२०३० र २०३४–२०३६, नगेन्द्र प्रसाद रिजाल (२०३०–२०३२) र २०४२, लोकेन्द्रबहादुर चन्द (२०४०–२०४२) र २०४६ तथा मरिचमान सिंह श्रेष्ठ (२०४३–२०४६) सम्म प्रधानमन्त्री थिए।

विसं २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थामा कृष्णप्रसाद भट्टराई पहिलो अन्तरिम प्रधानमन्त्री भए । त्यस्तै गिरिजाप्रसाद कोइरालाले (२०४८–२०५१) र (२०६३–२०६५) सम्म मुलुकको प्रधानमन्त्री भए । कम्युनिष्ट पार्टीका तर्फबाट मनमोहन अधिकारी विसं २०५१ देखि २०५२¬ सम्म प्रधानमन्त्री बने ।

पहिलो संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगत्तै २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । यसैगरी विसं २०६६ देखि २०६७ सम्म माधवकुमार नेपाल, २०६७ देखि २०६८ सम्म झलनाथ खनाल, २०६८ देखि २०६९ सम्म बाबुराम भट्टराई, २०६९ देखि २०७० सम्म तत्कालीन प्रधानन्यायाधीश रेग्मी, २०७० देखि २०७२ सम्म सुशील कोइराला, २०७२ देखि २०७३ सम्म केपी शर्मा ओली र विसं २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री भए । राजाराम कार्की /रासस