काठमाडौं–विराटनगर–४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ ।


ADVERTISEMENT


हत्यामा संलग्न विराटनगर–४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो । भट्टराई विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


प्रहरीले विराटनगरमा लामो समयदेखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर–१५ बाट पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन् । उनका अनुसार भट्राई र सहनीबीचको चिनजान पुरानै हो ।

भट्राईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो । उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ । राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो ।

पुरानै चिनजानका आधारमा सुरक्षा गार्ड भट्टराईले लागूऔषधको नसामा रहेका सहनीलाई यौनकर्मी खोजेर ल्याउनका लागि भन्दै २५ सय रुपैयाँ दिएर पठाएका थिए । ‘यौनकर्मी खोजेर ल्याइदिने भन्दै भट्राईले दिएको पैसा बोकेर भदौ २ गते शनिबार राति बजार निस्किएका सहनी यौनकर्मी नलिइकन त्यत्तिकै फर्किएपछि दुईबीच विवाद भएछ,’ एक प्रहरी अधिकारीले भने, ‘विवाद बढ्दै गएपछि फलामको रड र भाला प्रयोग गरेर भट्राईको हत्या भएको देखिन्छ।’ – आजको अन्नपुर्ण पोष्टबाट