काठमाडौं –मलेसियामा जारी एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । बिहीबार युएईसंग भएको खेलमा नेपालले ७८ रनले पराजित भएको हो ।


ADVERTISEMENT


मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले २५४ रन बनाएको थियो । २५५  रनको लक्ष्य पछ्याएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७६ रनमात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


नेपालका लागि सुवास खकुरेलले सुस्त गतिमा ५० रन बनाएपनि जितका लागि त्यो पर्याप्त हुन सकेन । नेपालका अन्य व्याट्सम्यानमा दिपेन्द्रसिंह ऐरिले ४० रन, सोमपाल कामीले २७ र कप्तान पारस खड्काले १६ बनाए पनि अरुको प्रदर्शन सम्झनलायक रहेन । नेपालको इनिङ ध्वस्त पार्ने क्रममा युएइका अहमद राजाले ४ र मोहम्मद नावेदले महत्वपूर्ण ३ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएइका लागि असफाक अहमदले ४५, चिराग सुरीले ६५, रमिज सहजादले ३५, मोहम्मद उस्मानले १३ र अदान मुफ्तीले इनिङको अन्त्यतिर आक्रामक इनिङ खेल्दै ५७ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । योसँगै ओडीआइमा सन्दिपले पहिलोपटक ४ विकेट लिएका थिए ।

यस्तै वसन्त रेग्मी र सोमपाल कामीले पनि समान २–२ विकेट लिएका थिए । हारसँगै नेपालको एसिया कपसम्म पुग्ने यात्रा कठिन बनेको छ । बुधबारको पहिलो खेलमा ओमनले नेपाललाई ७ विकेटले पराजित गरेको थियो । अब बाँकी रहेका ३ खेल नेपालले जितेपनि अरु टिमको प्रदर्शनमा पनि भर पर्नु पर्नेछ । ६ टोली सम्मीलित प्रतियोगिताको उपाधी विजेताले एसिया कपमा सहभागिता जनाउनेछ ।