काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बिमस्टेकले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई प्रतिस्थापन नगर्ने बरु एक–अर्काको सहयोगी रहेको बताएका छन् ।


ADVERTISEMENT


उनले आफू बंगलादेश, भुटान, भारत र नेपालको उपक्षेत्रीय सहयोग प्रयासलाई समेत अगाडि बढाउने पक्षमा रहेको बताएका छन्।‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उनले भने, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षको हैसियतमा दिएको उद्घाटन मन्तव्यका क्रममा यस क्षेत्रका मुलुकहरुले व्योहोरी रहेका धेरै विषयहरु उठाएका छन्। उनले यस क्षेत्रको प्राकृतिक सम्पदाको सम्पन्नता र जनसंख्याको गतिशिलतामा धेरै संभावनाहरु रहेको उल्लेख गरेका छन्। यी संभावनाहरुलाई आत्मसात गर्दै यस क्षेत्रको जनतालाई गरिबीको दलदलबाट निकाल्नु पहिलो ध्येय हुनुपर्ने समेत उल्लेख गरे।

त्यसैगरी उनले जलवायु परिवर्तनको कारण भएका प्राकृतिक प्रकोपहरुसँग जुध्नका लागि सामूहिक तयारीको आवश्यकतामा जोड दिएका छन्। उनले भनेका छन्, ‘हामीले नगरेको दोषको भागीदार भइरहेका छौं, यस प्रकोपसँग जुध्नका लागि साझा तर छुट्टछुट्टै दायित्व र क्षमताको आधारमा साझा पहल जरुरी रहेको छ।’

उनले आतंकवाद र अन्तरदेशीय अपराधलाई नियन्त्रण गर्नका लागि यस क्षेत्रका राज्यहरुबीच थप बलियो एकता र सामूहिक प्रयासको आवश्यकता रहेको उल्लेख गरेका छन्। साथै प्रधानमन्त्री ओलीले व्यापार आर्थिक बृद्धिको सबैभन्दा महत्वपूर्ण भए पनि बिमस्टेक देशहरुबीच ज्यादै थोरै मात्र व्यापार भएको बताएका छन्। उनले भने, ‘व्यापार, सेवा, लगानीलगायत विषयमा बिमस्टेक मुलुकहरु प्रभावकारी रुपमा अघि बढ्नु पर्दछ।’