काठमाडौं– मलेसियाको क्वाललम्पुर– काठमाडौं रुटमा नियमित उडान गरिरहेको बजेट एयरलाइन्स एयर एसियाले व्यावसायिक उडान स्थगित गर्ने निष्कर्षमा पुगेको छ । एयरलाइन्सले उडान बन्द गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा आवेदन दिएको छ ।


ADVERTISEMENT


वैदेशिक रोजगरीमा जाने कामदार लक्षित गर्दै उडान सुरु गरेको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो ।


ADVERTISEMENT

# # #


यही अक्टोबर १३ देखि एक वर्षका लागि उडान स्थगन गर्न कार्यालयमा निवेदन दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । लगातार घाटा भएपछि उडान बन्द गर्ने भन्दै उसले पत्र पठाएको तर कामदारको समस्या समाधान हुने भन्दै बन्द नगर्न सुझाव दिइएको उनले जानकारी दिए ।

नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान गर्ने एयरलाइन्सले काठमाडौंबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । ठूलो जहाजमा जाने यात्रु थोरै भएपछि एयरलाइन्सको व्यापार स्वतः घाटामा गएको क्षेत्रीले बताए ।

नेपालबाट कामको लागि जानेमाथि ठगी भएको भन्दै सरकारले अहिलेलाई अन्तिम श्रम स्वीकृति रोकेको छ । नेपाली कामदारलाई लाग्दै आएको अतिरिक्त शुल्क नहटेसम्म फुकुवा नगर्ने अडानमा सरकार रहेको छ ।

हाल यो रुटमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले पनि उडान गरिरहेका छन् ।