बाँके– जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो ।


ADVERTISEMENT


जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको भरमा चलेको छ । चौबिस जनाको दरबन्दी रहेको जिल्लामा काजमा आएकासहित ३१ जनाको भरमा चलिरहेको छ ।


ADVERTISEMENT

# # #


“काजमा आएका ट्राफिक प्रहरी कतिबेला काज फिर्ता लिएर जान्छन् भन्ने टुङ्गो छैन ।”, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भने, “काज फिर्ता भए व्यवस्थापनमा थप कठिनाइ हुन्छ । जनसङ्ख्या वृद्धि उच्च रहे पनि दरबन्दी थप नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ ।”

ट्राफिक प्रहरीले शहरोन्मुख क्षेत्र खजुरा, कोहलपुर, शमसेरगञ्जका साथै पूर्व–पश्चिम राजमार्गको ७० किलोमिटर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन गर्नु परिरहेको छ । ‘‘बढ्दो जनसङ्ख्यासँगै सोही अनुपातमा चल्ने सवारीको सङ्ख्या हेर्ने हो भने बाँकेमा कम्तिमा ८० ट्राफिक प्रहरीको दरबन्दी आवश्यक छ”, उनले उल्लेख गरे ।

बाँकेमा ४५ हजारको हाराहारीमा दैनिक सवारी साधन गुड्ने ट्राफिक प्रहरीको अनुमान छ । सवारी साधनको यो सङ्ख्याको अनुपातमा एक ट्राफिक प्रहरीले करीब ८२० सवारी साधन हेर्नुपर्ने हुन्छ ।

प्रहरी निरीक्षक रोकायले भने, “सवारी चालक अनुमतिपत्र, ब्लुबुक जाँचलगायत सवारी नियम उल्लङ्घनका काममा जनपद प्रहरीले सघाउँदा केही सहज भइरहेको छ ।” सवारी साधनको वृद्धि उच्च रहेसँगै ट्राफिकमैत्री पूर्वाधार नहुँदा जिल्लाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै गएको छ ।

भाडाका घरमा ट्राफिक प्रहरी
जिल्ला ट्राफिक प्रहरी कार्यालय र ट्राफिक प्रहरी पोष्ट कोहलपुर (साविकको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय) बाहेक ११ ट्राफिक प्रहरी पोष्ट भवन अभावमा भाडाका घरमै छन् ।

ट्राफिक प्रहरी पोष्ट नेपालगञ्ज (बसपार्क) फुल्टेक्रा, गनापुर, शम्सेरगञ्ज, कुसुम, सम्झना, धनौली, मदनचोक, कोहलपुर (चप्परगौडी), कोहलपुर (हाइस्कूल) र चिसापानीको आफ्नै भवन नहुँदा भाडाका घरबाट सञ्चालन गर्नु परिरहेको प्रहरी निरीक्षक रोकायले बताएका छन् । उनले भने, “स्थानीयवासीको सहयोगका कारण घरभाडालगायत ट्राफिक व्यवस्थापनका काम सहज भएको छ ।” रासस