काठमाडौं – माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट सार्वजनिक गरेको छ।

बैंकले ग्राहककेन्द्रित डिजिटल सेवाअन्तर्गत अन्तरक्रियात्मक च्याटबोट सार्वजनिक गरेको जनाएको हो। बैंकको आधिकारिक वेबसाइटमा च्याटबोटको आइकन राखिएको छ, जहाँबाट ग्राहकले बैंकिङसम्बन्धी आफ्ना जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन्।

बैंकका अनुसार नियमित बैंकिङ सेवासम्बन्धी जानकारी लिन शाखा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले च्याटबोट विकास गरिएको हो। च्याटबोटको प्रयोगले प्रविधिको प्रभावकारी उपयोगमार्फत ग्राहकलाई थप सहज, दक्ष र ग्राहकअनुकूल बैंकिङ अनुभव प्रदान गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

साथै, ग्राहकका जिज्ञासालाई अझ सटीक र प्रभावकारी रूपमा सम्बोधन गर्न च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार गर्दै लैजाने बैंकले जनाएको छ। ग्राहकबाट प्राप्त सुझाव तथा प्रयोगबाट सिक्दै यसको शुद्धता र उपयोगिता थप अभिवृद्धि गरिने बैंकको भनाइ छ।