एजेन्सी– पाकिस्तानको सीमासंग जोडिएको छ अफगानस्तानको एक सुन्दर पहाडी प्रान्त ‘पक्तिया’ । स-साना घाँटीले भरिएको यस क्षेत्रमा बढीजसो पास्तुन जातीका मानिसहरु बस्ने गर्छन् । हिउँदको मौसममा यो क्षेत्र सेतो हुस्सुले ढाकिने गर्छ । तर यो प्रान्त आफ्नो सुन्दरताभन्दा बढी दुनियाँकै ‘मोस्ट वान्टेड’ चरमपन्थीले परिचित जलालुद्दिन हक्कानीका कारणले चिनिन्छ । किनकी उनको जन्म यहीँ भएको थियो । जदरान परिवारसंग सम्बन्ध राखेका हक्कानी एक समय अमरीका र उसका सहयोगी देशका लागि हिरो थिए । तर, पछि उनी भिलेन बने । आखिर कसरी ?


ADVERTISEMENT


सन् १९७९ मा जब सोभियत संघले अफगानिस्तानमाथि हमला गर्यो, तब हक्कानी एक यस्तो छापामार भएर बाहिर निस्किए, जसले सोभियत सेनाविरुद्ध लड्ने हिम्मत गरे । अमेरिकी जाशुस एजेन्सी सीआईए त्यो समय खुसीका साथ पाकिस्तानी सेनामार्फत जलालुद्दिन हक्कानी र उनका छापामार टोलिलाई आर्थिक तथा सामरिक सहयोग गर्दथ्यो ।


ADVERTISEMENT

# # #


पाकिस्तानमा रहेका वरिष्ठ पत्रकार सबाहत जकारिया बताउँछन् कि सीआईएलाई हक्कानी बढी महत्व दिन्थे । ‘सोभियत हमलाको समयमा जलालुद्दीन हक्कानी जान्ने मान्ने छापामार नेता थिए । त्यो समयमा उनको अलग पहिचान थियो ।’ उनी बताउँछन्, ‘यस्तोमा सीआईए र आईएसआई मिलेर उनलाई आर्थिक सहयोग गरे, सैन्य तालीम दिए । सोभियत रणनीतिविरुद्ध उनलाई एक महत्वपूर्ण साधान बनाए ।’

अमरीकाको आँखाका तारा

सीआईए र आईएसआईको मदतले ‘हक्कानी नेटवर्क’ अफगानिस्तानमा अनुभवी र दक्ष लडाकूको एक समूह बनेको थियो । तर सन् १९९० को दशकको सुरुवातमा जब सोभियत संघको विघटन र अफगानिस्तानमा तालिबानको उदय भयो, अमेरिका र उसका सहयोगीले हक्कानीसंगको दूरी बढाउन शुरू गरे ।

तर, यसका बावजुत पनि हक्कानी नेटवर्कको प्रभाव कम भएन । कुनै समय जलालुद्दीन हक्कानीसंग मिलेका पत्रकार अहमद राशिद बताउँछन् कि उनले कोष जम्मा गर्नका लागि अन्य तरिका पनि अपनाएका थिए ।

उनी बताउँछन् ‘जलालुद्दिन हक्कानी अचम्मका मानिस थिए । मतलब जुन समय अफगान छापामार सोवियत हमलाको विरुद्ध लडिरहेका थिए, तब उनी अमेरिकी राष्ट्रपति रोनाल्ड रिगान र सीआईएको ‘आँखाको तारा’ थिए । उनी आफ्नो समूहकाबीच पनि लोकप्रिय थिए । आफ्नो गतिविधिका लागि ड्रग्सको कारोबार गरेर उनले खुब पैसा जुटाए । उनी पाकिस्तानी जाशुस एजेन्सी र सेनासंग पनि नजिक थिए र उनीहरुका लागि पनि जलालुद्दिन हक्कानीले केही काम गरेका थिए ।’

जलालुद्दी हक्कानी पाकिस्तानको शिविरमा आफ्ना दुई छापामार जवानका साथ ।

 तालिबानसंग भएर पनि अलग रहे

अफगानिस्तानमा जब एक तर्फ तालिबान थियो भने अर्को तर्फ अल कायदा । तर पनि हक्कानी नेटवर्कको आफ्नो अलग अस्तित्व कायम रह्यो । यतिसम्म कि उनली तालिबानी सरकारको मन्त्री भएरपनि अफ्नो संगठनलाई अलग राखे ।

वरिष्ठ पत्रकार सबाहत जकारिया बताउँछन् किजलालुद्दिन हक्कानी तालिबानको साथमा रहेर पनि उसबाट टाढा रहे । किनकि यसमा उनको फाइदा थियो । यस कारण उनले तालिवानसंग आफ्नो संगठनलाई विलय गरेनन् ।

पछि बद्लियो स्थिति

…११ सेप्टेम्बर २००१ । अमरीकाको ट्विन टावरमाथि भएको हमलामा अमरीकाले अल कायदालाई जिम्मेवार बताउँदै अफगानिस्तानमा अभियान चलाउने घोषणा गर्यो । यस दौरान जलालुद्दिन हक्कानी तालिवानी शीर्ष नेताका रुपमा अन्तिम समयमा पाकिस्तानको औपचारिक भ्रमणका लागि आए र इस्लामाबादबाटै गायब भए ।

केही महिनापछि उनी पाकिस्तानकै वजिरिस्तानमा देखिए । यहींबाट उनले केहीसमय पहिले आफ्नो सहयोगी रहेको अमेरिकाविरुद्ध अभियानको घोषणा गरे, जुन अफगानिस्तानमाथि हमला गरिरहेको थियो ।

वरिष्ठ पत्रकार अहमद राशिद बताउँछन् कि हक्कानीको अलकायदालाई साथ दिने निर्णय एकदमै गलत थियो । उनी बताउँछन्, ‘मलाई लाग्छ कि यो उनको जीवनको सबैभन्दा ठूलो गल्ती थियो । उनी तालिबानी सरकारमा मन्त्री थिए तर, तालिबानको अपमान गर्दथे । अलकायदामा सामेल हुने उनको निर्णय दुर्भाग्यपूर्ण रह्यो । जसले गर्दा अमेरिकासंगको सम्बन्ध चिसियो र सीएनआईले पनि उनलाई किनारा लगायो ।’

अफगानिस्तानमा अमरिकी अभियानले अल कायदा, तालिबान र हक्कानी नेटवर्कलाई एक अर्काबीच नजिक ल्यायो । यसका साथै अफगानिस्तानमा अमरीकाको लागि महत्वपूर्ण सहयोगी रहेको हक्कानी ‘मोस्ट वान्टेड’ चरमपन्थी बन्न पुग्यो ।

वजिरिस्तानमा ‘सेल्टर’

अमेरिकाले केही आत्मघाती हमला र अपहरणमा हक्कानीलाई जिम्मेवार रहेको बतायो । जब अमेरिकाले यहाँ ड्रोन र हवाई हमला गर्योे, तब तालिबान र हक्कानी लडाकूले भागेर पाकिस्तानको वजिरिस्तानमा ‘सेल्टर’ स्थापना गरेर त्यहीँबाट गतविधि चलाए ।

‘हक्कानी नेटवर्कको पाकिस्तानको वजिरिस्तान क्षेत्रमा शिविर थियो । उनीहरुले अफगानिस्तानमा गएर पनि अपरेट गरिरहे ।’ वरिष्ठ पत्रकार सबाहत जकारिया बताउँछन्, ‘हक्कानी ‘पावर ब्रोकर’ थिए माफिया जस्तै । अलकायदा र ओसामाका साथ उनीहरुको अलग सम्बन्ध थियो भने तालिवानका साथ अलग । पाकिस्तान र अफगानिस्तानमा उनीहरुको बढी प्रभाव थियो ।

पाकिस्तानसंगको सम्बन्ध

हक्कानी नेटवर्कले अफ्नो सुविधाको हिसाबले सम्बन्ध बनायो र तोड्यो पनि । तहरीक–ए–तालिबान पाकिस्तानसंग पनि यसको सम्बन्ध उतार चढाव नै रह्यो । अमेरिकाको कारबाहीपछि अफगानिस्तानबाट भागेका लडाकू वजिरिस्तानको छेउछाउ आउन सुरु गरे । यहाँ यिनीहरुको यति प्रभाव रह्यो कि उनीहरुको संगको संघर्षमा पाकिस्तानका ७०० जवानको मृत्यु भयो ।

त्यसपछि हालत यस्तो भयो कि २००६ सम्म पनि पाकिस्तानी अधिकारी वजिरिस्तानमा पाहिलासम्म राख्न डराउँथे । यसले गर्दा हक्कानी र अन्य चरमपन्थी समूहहरुलाई यहाँ अझ मजबुद हुनै मौका मिल्यो ।

तरपनि पाकिस्तानमाथि हक्कानीविरुद्ध नरम रवैया गरेको आरोप लागिरहेको छ । तर पनि पाकिस्तान यसलाई इन्कार गर्छ । २०११ मा तत्कालीन अमेरिकी राष्ट्रपति ओबामाले पनि पाकिस्तानी एजेन्सीको चरमपन्थीसंग सम्बन्ध हुने कुरा बताएका थिए ।

उनले भनेका थिए, ‘यसमा कुनै शंका छैन कि पाकिस्तानी सेना र जाशुस एजेन्सीको यस्ता मानिससंग सम्बन्ध छ जुन हाम्रो लागि समस्या छ । मैँले सार्वजनिक रुपमा नै यो कुरा भनेको छु साथै पाकिस्तानी अधिकारीसामू पनि । उनीहरुलाई लाग्छ कि स्वतन्त्र अफगानिस्तान उनको सुरक्षाको लगि खतारा हुन्छ । किनकी ऊ भारतको नजिक आउन सक्छ , जसलाई पाकिस्तान आफ्नो दुश्मन सम्झिन्छ’

अमरीकाले सन् २०१२ मा नै हक्कानी नेटवर्कलाई प्रतिबन्धिित गरिदिएको थियो । तर, पाकिस्तानले २०१४ मा पेशावरमा स्कूलमाथि भएको हमलापछि २०१५ मा ल्याएको ‘नेशनल एक्सन प्लान’पछि मात्रै यसलाई बन्देज लगायो ।

तर फेरि अमेरिकाले हालैमात्रै पाकिस्तानलाई चरमपन्थी समूहविरुद्ध लड्नका लागि दिँदै आएको सहयोग यस दिशामा सही काम नगरेको भन्दै रोकिदिएको छ ।

अफगानिस्तानमा भारतको राजदूत रहिसकेका विवेक काटजू बताउँछन् ‘अमेरिका जे भनिरहेको छ त्यो सही छ । पाकिस्तान हक्कानी नेटवर्क र तालिबानलाई प्रयोग गरिरहेको छ । हक्कानी उसको साधान हो । हक्कानी नेटवर्कले भारतको दूतावासमा दुई पटक हमला गरेको थियो । त्यस कारण यो बताउँदा गलत हुँदैन कि हक्कानी नेटवर्क र तालिबान पाकिस्तानको इशारामा चलिरहेका छन् ।

एक समय सोवियत संघको आक्रमणका विरुद्ध अफगान संघर्षको प्रतीकका रुपमा चिनिने जलालुद्दिन हक्कानीको मृत्यु भइसकेको छ । तर जानकार बताउँछन् कि उनको मृत्युले हक्कानी नेटवर्कमा केही असर पर्नेछैन । किनकि केही वर्ष पहिले नै उनले आफ्नो छोरा सिराजुद्दिनलाई जिम्मेवारी सुम्पिसकेका छन् ।

आज सिराजुद्दिन अफगान तालिबानका शीर्ष नेतामध्येका एक हुन् । त्यसकारण आजपनि अफगान सरकार, अमरीका लगायतको विश्वास छ कि उनी अझ पनि अफगानिस्तानको शान्ति र स्थिरताको लागि खतरा बनेका छन् ।