काठमाडौं – एसिया कप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा सम्पन्न एसिया कप छनोटमा सहभागी भएर टोली आज (शुक्रबार) काठमाडौँ आइपुगेको हो ।


ADVERTISEMENT


टोलीलाई त्रिभुवन विमानस्थलमा निलम्बित क्यानका पदाधिकारीले स्वागत गरे । नेदरल्याण्डविरुद्ध एकदिवसीय डेब्यु सिरिजपछि मलेसिया पुगेको टोलीले अपेक्षाकृत नतिजा भने ल्याउन सकेन ।


ADVERTISEMENT

# # #


कप्तान पारस खड्काले मलेसियामा टिमले आफ्नो क्षमता अनुसारको प्रदर्शन ब्याटिङ र बलिङ दुबैमा गर्न नसकेका कारण प्रतियोगिताबाट बाहिरिनु परेको बताएका छन् । उनले भने, ‘टिमको रुपमा हामीले हाम्रो क्षमता र सोचे अनुसारको प्रदर्शन गर्न सकेनौँ । यो हप्ता हामीले नराम्रो खेलेका हौँ । जिम्मेवारी हामी नै लिन्छौँ ।’

प्रतियोगिताबाट बाहिरिँदा दुःख लागेको भन्दै कप्तान खड्काले एउटा सुनौलोे अवसर गुमाएको बताए । उनले भने, ‘जति दुःख प्रशंसकलाई लागेको छ, त्यो भन्दा बढी दुःख हामीलाई लागेको छ कि हामीले एउटा सुनौलो अवसर गुमायौँ । यसको जिम्मेवारी एउटा खेलाडी र कप्तानको रुपमा म लिन्छु ।’

अबका दिनमा कसरी जाने भन्ने बारेमा योजना बनाउनुपर्ने भन्दै उनले नेपाली क्रिकेटको अभिभावक संस्था क्यान निलम्बनमा रहेको अवस्थामा आइसीसीसंग प्रस्ताव राख्नुपर्ने बताए ।

सुरुवाती दुई खेलमा ओमान र युएईसँग हार ब्यहोरेको टोलीले मलेसिया र सिगांपुरलाई भने पराजित गरेको थियो । अन्तिम खेलमा हङकङसँग पराजित भएसँगै नेपाली टोलीको एसिया कप खेल्ने सपना सकिएको थियो ।