काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार भारत प्रस्थान गरेका प्रचण्ड आज फर्किएका हुन् ।


ADVERTISEMENT


त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भ्रमण फलदायी भएको बताए । दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना हो ।’


ADVERTISEMENT

# # #


उनले भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयका विषयमा समेत कुराकानी भएको बताए । ‘भ्रमण आर्थिक विषयमा पनि केन्द्रीत भयो’, उनले भने ।

चार दिने भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराज लगायतका वरिष्ठ नेतृत्व तथा पदाधिकारीसंग भेट वार्ता गरेका थिए । उनले आफ्नो भ्रमणका क्रममा भारतले सहयोग र सद्भावमा कुनै कसर बाँकी नराखेको बताए । ‘दुई तिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गर्ने पार्टीको अध्यक्षलाई गर्ने व्यवहारमा मैँले कहीँ पनि कमी महशुस गरिनँ । त्यसमा प्रयाप्त ध्यान पुर्याइएको देखियो ।’ उनले भने ।

मन्त्री फेरबदलको चर्चा चलिरहेको प्रसंगमा गरिएको जिज्ञासामा उनले प्रधानमन्त्री ओलीले जे भन्यो त्यही आधिकारिक धारण भएको भन्दै मन्त्रीमण्डल फेर्ने कुरा हल्ला मात्र भएको बताए । ‘प्रधानमन्त्री ज्यूले जे भन्नु भएको छ त्यहीँ नै अधिकारिक हो’, उनले भने, ‘गल्ती गर्दा चाहिँ मन्त्रीलाई कारबाही हुनसक्छ मात्रै भनेको हुँ । गरिहाल्ने अधिकार ममा छैन ।’

यस्तै भारत लगायत बिमस्टेक राष्ट्रसंगको संयुक्त सैन्य अभ्यासका बारेमा भ्रमणमा केही कुरा नभएको उनले बताए । नेपाल सरकारले उक्त अभ्यासमा भाग नलिने बताइसकेको छ ।

प्रचण्डको भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहेका थिए ।