म्याग्दी– म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन ।


ADVERTISEMENT


चालीस मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला र ८।४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्त देखिएको विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


अनुमतिपत्र लिई आयोजनाको भौतिक प्रगति २० प्रतिशत पु¥याउन नसकेका ३६ वटा आयोजनाको विवरण १५ दिनभित्र बुझाउन प्रवद्र्धक कम्पनीहरुलाई पत्राचार गरिएको विभागका महानिर्देशक नवीनराज सिंहले बताए।

उनका अनुसार उत्पादन अनुमतिपत्र लिएको एक वर्षभित्र निर्माण शुरु गर्नुपर्ने व्यवस्था विद्युत् नियमावली २०५० को नियम २१ मा गरिएको छ तर ती आयोजनाले यसलाई परिपालना गरेका छैनन् । आयोजना प्रगति न्यून हुनु र नियमित विवरण नबुझाउनुका कारण खुल्ने विवरण पेश गर्न उनीहरुलाई ताकेता गरिएको हो । प्रत्येक छ/छ महिनामा आयोजनाको प्रगति विवरण विभागमा पेश गर्नुपर्ने नीतिगत व्यवस्था छ ।

विसं २०६८ साउन ३ गते उत्पादन अनुमतिपत्र पाएको र नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको रघुगंगा हाइड्रोको अहिलेसम्मको भौतिक प्रगति दुई प्रतिशत मात्रै छ । पुरानो सिभिल ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि ऊ सँगको सम्झौता रद्द गरेर विसं २०७४ मंसिर पहिलो साता छ अर्ब रुपैयाँमा सम्झौता गरेको जेपी एशोसियट्स गत असार पहिलो हप्ता कार्यक्षेत्रमा परिचालन भएको छ । रघुगंगा हाइड्रोका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत् गृहको काम एकैसाथ अघि बढाउने तयारी गरेको बताए ।

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोलाले २०७१ फागुन ४ गते उत्पादन अनुमति पायो तर, लगानीसम्बन्धी विवादका कारण उसको अहिलेसम्म तीन प्रतिशत मात्रै प्रगति भएको छ । विवाद समाधान भएपछि हालै सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरेको धौलागिरि कालिका हाइड्रोका सञ्चालकहरुले आगामी हिउँददेखि भौतिक पूर्वाधारको काम शुरु हुने बताएका छन् ।

हाइड्रो इम्पाएर प्रालिले धवलागिरि गाउँपालिकामा निर्माण गर्न लागेको २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस २०७० चैत ६ गते उत्पादन अनुमति पाएको थियो । दुई प्रतिशत भौतिक प्रगति भएको आयोजनाले आगामी दशंै लगत्तै पहुँच मार्ग, बाँध र सुरुङको काम शुरु गर्न लागेको छ । भौगोलिक विकटताका कारण आयोजना निर्माणमा ढिलाइ भएको प्रवद्र्धकहरुको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित पर्यटकीय स्थल रुप्से झरना क्षेत्रमा म्याग्दी रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजनाका लागि विसं २०७१ वैशाख ५ गते उत्पादन अनुपति पाएको थियो । आयोजना निर्माण कार्य प्रसिद्ध रुप्से झरनाको सौन्दर्यमा असर पर्ने र त्यसबाट पर्यटकको आगमन घट्ने स्थानीय बासिन्दाको अडानका कारण अल्झिएको छ । विवाद पछि वातावरणीय असर नपर्ने गरी पहिले प्रस्ताव गरेको भन्दा अर्कै ठाउँमा बाँध बनाउने डिजाइन तयार गरेर आयोजनाको निर्माण अघि बढाउने तयारी भएको छ । रुप्से खोलाको अहिलेसम्मको प्रगति ०.५० प्रतिशत छ ।

अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणका लागि विसं २०७२ असार ११ गते उत्पादन अनुमति पाएको म्याग्दी हाइड्रोपावर लिमिटेडले २०७४ चैतदेखि पूर्वाधार निर्माणको काम शुरु गरेको छ । बाँध रहने ठाउँ शिख र घारको सिमाना कुरिलाबगरसम्म पहुँचमार्ग पुर्याएर बाँध, सुरुङ, विद्युत् गृहको निर्माण शुरु गरिसकेको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए । विसं २०७७ मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ९२ प्रतिशत निर्माण कार्य सकिएको छ । एकसय मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यास्केटले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएका छन् ।

विभागका अनुसार म्याग्दीमा ३०८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । यस बाहेक १४४।३ मेगावाट क्षमताका सात आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । तीन सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रर्वद्धक कम्पनीहरुलाई अनुमति दिइएको विभागको वेबसाइटमा उल्लेख छ । यसैगरी, २४२ मेगावाट क्षमताको आठ वटा आयोजना सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ ।

म्याग्दीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको सब–स्टेशन निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत दानादेखि पर्वतको खुर्कोटसम्म प्रशारण लाइन निर्माण भइरहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।

यसैगरी, मालिका गाउँपालिका–७ बिमको डाँडाखेत र रघुगंगा गाउँपालिका–३ पिप्लेको राहुघाटमा सब–स्टेशनका साथै डाँडाखेतदेखि राहुघाट जोड्ने प्रशारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।
– सन्तोष गौतम/रासस