ओखलढुङ्गा– पुनःनिर्माणमा खटिएर कार्यक्षेत्रमा नबस्ने जिल्लाका प्राविधिक कारवाहीमा परेका छन् ।


ADVERTISEMENT


भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोग गर्न खटिएका कतिपय प्राविधिक गाउँमा नबसेको गुनासो आएपछि पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले कारवाही शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


यो साता कार्यक्षेत्रमा नबस्ने प्राविधिक पहिचान गरेर स्पष्टिकरण सोधिएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इञ्जिनियर पीताम्बर पुनले बताए। उनका अनुसार यो साता आधा दर्जन प्राविधिक कारवाहीको दायरामा परेका छन् । प्राप्चामा खटिएका लोकबहादुर ऐर, कुन्तादेवीमा खटिएका करण दास, खिजीकातीमा खटिएका प्रकाशकुमार यादव लगायतका प्राविधिक कारवाहीमा परेका हुन् । गाउँमा नबसेको र फोन गर्दा समेत नउठाएर सम्पर्कविहीन भएको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण दिन भन्दै पत्र पठाइएको छ । उनीहरुलाई पहिलो चरणमा स्पष्टीकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआए नियमानुसार कारवाही अघि बढाइने जनाइएको छ ।

प्राविधिक सङ्गठित

जिल्लाका प्राविधिक सङ्गठित भएका छन् । भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोगमा खटिएका प्राविधिक सङ्गठित भएका हुन् । ओखलढुङ्गा सदरमुकाममा भएको भेलाले राजेन्द्र धमलाको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा जनक बुढा, सचिवमा दिव्यराज दाहाल, सहसचिवमा चम्पा दाहाल लगायत छन् ।

पुनःनिर्माणमा खटिएका प्राविधिकको स्वास्थ्य बीमासहितको सेवा सुविधा र हकहितमा आवाज उठाउन समिति गठन गरिएको अध्यक्ष धमलाले बताए। सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमासँग सम्बन्धित सवाललाई सम्बोधन गराउन, पुनःनिर्माणमा प्राधिकरणको मापदण्डअनुसार लाभग्राहीलाई दिने सेवामा एकरुपता ल्याउन, सेवालाई गुणस्तरीय तथा पारदर्शी बनाउन र जिल्लाबाट सम्बोधन गर्न सकिने सेवालाई थप प्रभावकारी बनाउनसमेत समितिले काम गर्ने धमलाको भनाइ छ । “यो समितिले हाम्रा आफ्ना अधिकारका बारेमा पनि खरो भएर लाग्नेछ र भूकम्पपीडितका सवालमा पनि आवाज उठाउने छ, उनले भने । –पूर्णप्रसाद न्यौपाने रासस