काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बौद्ध स्तूप परिसरमा हुने डुवान नियन्त्रण गर्न करीब रु एक करोड २७ लाख खर्च गरेर ढल निर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज बौद्ध स्तूप क्षेत्रको अवलोकन गर्दै स्तूप क्षेत्र डुबानमुक्त बनाइने आश्वासन दिए । गोकर्णेश्वर नगरपालिकाको जगडोल तथा रामहिटी वडा ८ र ९ बाट आउने भल बौद्धद्वार नजीकको खहरेमा पुर्याइने छ । अवलोकनपछि प्रमुख शाक्यले नयाँ बस्ती विकासका क्रममा तयार पारिएका संरचना र पुराना बस्तीका संरचनाको सन्तुलन नमिलेका यस्तो खालको समस्या नियमित भएकाले आगामी दिनमा नयाँ संरचना निर्माण गर्दा ध्यान दिनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


अनुगमनमा सहभागी सांसद कृष्ण राईले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु जाने सडक दशैँ अगावै कालोपत्रे हुने बताए । सो समस्या समाधानका लागि करीब ३०० मिटर दूरीमा भूमिगत ढल बिछ्याइने योजना रहेको वडाका इञ्जिनीयर शंखनारायण श्रेष्ठले जानकारी दिए ।

अनुगमन बौद्धद्वार, स्तूप परिसर, बौद्ध फूलबारी तथागत मार्ग, रामहिटी, धाराटोलमा गरिएको थियो । प्रमुख शाक्यसँगै महानगर प्रमुखका सल्लाहकार राजेन्द्र स्थापित, वडा नं ६ का वडाध्यक्ष दीपेन्द्र लामालगायत जनप्रतिनिधि र कर्मचारी बौद्ध स्तूप क्षेत्रको अनुगमनमा गएका थिए ।