काठमाडौँ– नेपाल विद्यार्थी सङ्घले १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउन नेपाली काङ्ग्रेसलाई प्रस्ताव गर्ने भएको छ ।


ADVERTISEMENT


नेविसङ्घको भर्खरै सम्पन्न बैठकले प्रस्तावित विधान र नियमावलीमा ३२ वर्षे उमेरहद हटाउन लागि निर्णय गरेर पार्टीमा बुझाउने निर्णय गरेको उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीसहितको ६ सदस्यीय समितिले केन्द्रीय समितिमा उठेका विषयलाई समेटेर सबैसँग आवश्यक समन्वय गरी सङ्घको संशोधित विधान र नियमावली यही भदौ २७ गते पार्टीलाई बुझाउने भएको छ ।


ADVERTISEMENT

# # #


नेविसङ्घले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि अगामी असोज ६ गते देशभरका माध्यमिक विद्यालय र क्याम्पस अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्रीय अधिवेशन तथा आगामी असोज २१ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने समय तालिका बनाएको छ ।

यस्तै असोज २३ गते उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातवटै प्रदेशको अधिवेशन र कात्तिक १६ गते केन्द्रीय महाधिवेशन गर्ने समय तालिका सार्वजनिक गरिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले तोकिएकै समयभित्र अधिवेशन सम्पन्न गर्नका लागि आफू लागिरहेको बताएका छन् । रासस