नेपालगञ्ज– स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ ।
अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ ।


ADVERTISEMENT


दैनिक करीब दुई ट्रक स्याउ नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जी मण्डीमा बिक्रीका लागि आइरहेको छ । त्यहाँबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गर्दछन् । भदौको दोस्रो साताबाट बजारमा आएसँगै भारत र चीनका स्याउ यहाँको बजारबाट विस्थापित जस्तै भएको छ । यसले त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्,“जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी ल्याउने गरिएको छ ।”


ADVERTISEMENT

# # #


दैनिक करिब सय क्विन्टल स्याउ बिक्रीका लागि फलफूल मण्डीमा आउँछ । त्यहाँबाट बाँकेका विभिन्न बजारमा खुद्रा मूल्यमा बिक्रीका लागि व्यापारीले लिएर जान्छन् भने बर्दिया र कैलालीसम्म स्याउ जान्छ । फलफूल व्यापारी मोहम्मद नसिम जुम्लाको स्याउ दैनिक २० देखि ५० किलोसम्म बिक्री गरेर आएको नाफाबाट आफू सन्तुष्ट रहेको बताउँछन्।

यसको थोक मूल्य अहिले रु ५० देखि रु ९० प्रतिकेजी छ । खुद्रा व्यापारीले रु ८० देखि रु १३० प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म यसका पारखीले जुम्ली स्याउ नै रोज्दछन् । ठूलो, मझौला र सानो तीन प्रकारले वर्गीकरण गरी स्याउ बिक्री भइरहेको छ । स्थानीय डिबी राउतले जुम्लाको स्याउ स्वादिलो भएकोले अरुभन्दा यही नै रोज्ने गरेको बताए।

व्यवसायी संस्थालाई करीब रु २० लाख सहयोग

वातावरणमैत्री व्यवसाय प्रवद्र्धन गर्न उद्यमीलाई भेरी वातावरण विशिष्टता समूह (बी—ग्रुप) ले आर्थिक सहयोग गरेको छ । वातावरण अनुकूलनमैत्री, उत्थानशीलता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन कार्यक्रम अन्तर्गत नेपालगञ्जका आठ व्यवसायी संस्थालाई रु १९ लाख ८० हजार अनुदान उपलब्ध गराइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको समन्वय, सहकार्य र बजारीकरण हुने गरी पञ्चशील हस्तकला केन्द्रलाई रु ६ लाख, एकता महिला सशक्तिकरण केन्द्रलाई रु ६ लाख र नेपाल वेष्ट रिसाइक्लर्स उद्योगलाई रु तीन लाख ३० हजार दिइएको छ । मिलिजुली महिला सिलाइकटाइ समूह, वडा न १९, २० र २३ का तीन सहकारी समूह प्रत्येकलाई रु ९० हजार सहयोग प्रदान गरिएको छ ।

आज यहाँ आयोजित समारोहमा नगर प्रमुख डा धवलशम्शेर राणाले ती संस्थालाई सहयोग रकमको चेक हस्तान्तरण गरे । उनले यसप्रकारको आर्थिक सहयोगले वातावरण प्रदूषण नियन्त्रणसँगै वातावरण अनुकूलन व्यवसाय प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । –नीरज गौतम/रासस