काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)लाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


सरकारले आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको भन्दै मन्त्री पुनले केही ठूला परियोजनामा लगानीका लागि युएई सरकारलाई अनुरोध गरेका हुन् । सिंहदरबारमा आज मन्त्री पुनसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्वीले गरेको शिष्टाचार भेटका क्रममा ऊर्जा क्षेत्रमा लगानीका विविध आयामका बारेमा छलफल भएको हो ।


ADVERTISEMENT

# # #


युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ । सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनसँग भटवार्ता गरे । भेटवार्ताका क्रममा मन्त्री पुनले ऊर्जा क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गरेका थिए । उनले लगानीको सुरक्षाका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पुर्याइदिन आग्रह गरेका थिए।

सो अवसरमा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए । ऊर्जामा युएईको लगानी आवश्यक परे आफ्नो सरकारसँग औपचारिक आग्रह गर्न त्यसका लागि सहजीकरण गर्न सकिने राजदूतको भनाइ थियो ।

युएईले १७० देशको सहभागिता हुने गरी ऊर्जा सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए । उक्त सम्मेलनमा प्रत्येक वर्ष नेपालले प्रतिनिधित्व गर्दै आएको छ । गत वर्ष तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए । मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतसँग नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन् ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर भएको भन्दै उहाँले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्दै आएका छन् ।