काठमाडौँ– पुनःनिर्माण भएको महिना दिन नबित्दै पानी चुहिन थालेपछि साँखुको लिच्छवीकालीन मन्दिरको मर्मत थालिएको छ ।


ADVERTISEMENT


भूकम्पले भत्किएपछि पुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको यहाँका दुई मन्दिरभित्र पानी चुहिन थालेको थियो । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण साँखुको कृष्ण मन्दिर र नारायण मन्दिरमा निर्माण कम्पनीले पुनःनिर्माणमा लापरबाही गरेपछि मन्दिरभित्र पानी चुहिएको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय समाचार समितिले त्यसको नियमित अनुमगनपश्चात समाचार प्रकाशन गरेपछि र पुरातत्व विभागले चासो दिएपछि गुप्ती गणेश कन्स्ट्रक्सनले शङ्करापुर नगरपालिका–७ साल्खा टोलमा रहेको राम झुपडी कृष्ण मन्दिर मर्मत सम्पन्न गरेको छ भने वडा नं ६ मा रहेको नारायण मन्दिरको मर्मत गरिँदै छ ।

कृष्ण मन्दिरको सम्पूर्ण मर्मत सकिए पनि नारायण मन्दिरको छानो छाउने काम भइरहेको स्थानीय पवन श्रेष्ठले जानकारी दिएका छन् ।

गुप्ती गणेश कन्स्ट्रक्सनले धेरैजसो पुरानै सामग्री प्रयोग गरी मन्दिर पुनःनिर्माण गरेकाले गुणस्तरीय नभएकोे स्थानीयवासीले विरोध गरेका थिए । विरोधपछि उक्त मन्दिरको मर्मत गर्न दबाव दिइएको साँखुका पूर्व गाविस अध्यक्ष गोविन्दप्रसाद श्रेष्ठले बताए । पुनःनिर्माण गुणस्तरीय नहुँदा पानी चुहिएर मन्दिरभित्र पसेपछि पर्खाल जीर्ण बन्दै गएको थियो । भूकम्पले भत्किएका ७५३ सम्पदा पुनःनिर्माण हुनुपर्नेमा १८५ पुरातात्विक सम्पदा निर्माण सम्पन्न भइसकेको छ भने ५०० भन्दा बढीको अझै काम शुरु हुन नसकेको पुरातत्व विभागले जनाएको छ । रासस