काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ ।


ADVERTISEMENT


बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पोरेशनले जनाएको छ । कर्पोरेशनको ५६ औं वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।


ADVERTISEMENT

# # #


पछिल्लो समय कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ ।

सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको सङ्ख्या ४४=२ थियो । यो सङ्ख्या सन् २००७ मा शुन्यमा झरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पोरेशनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औँल्याए ।

“कर्पोरेशनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ ”, उनले भने ।

सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पोरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको वताए ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले विगत अगामी वडा दशै, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलबाट दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन् ।

कर्पोरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु ७५ हजार सहित सम्मानपत्र रहेको छ ।